पहिलो सुर सप्तक बेलबारी आइडल सम्पन्न, बिवेशले जिते उपाधि

  • १४ असार २०७६, शनिबार

आउ गाउ, पहिचान बनाउ भन्ने स्लोगन सहित श्रष्टा समाज बेलबारीले आयोजना गरेको सुर सप्तक बेलबारी आइडल २०७६ को उपाधि बेलबारी ४ का बिवेश मोतेले जितेका छन् ।

निकै आकर्षक स्टेज, लाइटिङ र साउण्ड अनि बाजागाजा र  हलभरी दर्शकको उपस्थितिमा बेलबारी १ स्थित मदन मोहन आश्रित पुष्परत्न भवनमा भएको फाइनल कार्यक्रममा फाइनल राउण्डमा पुगेका उत्कृष्ट १० (टप 10) प्रतिस्पर्धीलाई पछि पार्दै मोतेले बेलबारी आइडलको उपाधि जितेका हुन् । उनले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र साथै गीत रेकर्डिङको अबसर पाएका छन् ।

त्यसैगरी बेलबारी बेलबारी ३ की लक्ष्मी  पौडेलले सुर सप्तक बेलबारी आइडलको सह बिजेताको उपाधि जितेका छन्  । सह बिजेता पौडेलले १५ हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाएका छन् ।

त्यस्तै बेलबारी २ की अलिमा लिम्बु आइडलको  उपबिजेता बनेकी छिन् । उप बिजेताले १० हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । साथै सह बिजेता र उप बिजेताले पनि गीत रेकर्डिङको अबसर पाउने छन् । उत्कृष्ट १० जनालाई संयुक्त रु एउटा गीत गाउने अबसर मिल्नेछ ।

शनिबार भएको फाइनल राउण्डमा बेलबारी १ कुमारी बिकले हेरेको तिमीलाइ आँखाले होइन,  बेलबारी ११ रबि दाहालले हजार आँखा हेर्ने मेरी मायालुलाइ, सोही वडाकी नविना पोख्रेलले नबोले नि तिम्रो कुरा, बेलबारी ४ बिवेश मोतेले आँखाको निद खोसी लाने, बेलबारी ६ इया राइले यस्तो पनि हुँदोरहेछ माया बोलका गीत गाएका थिए ।

त्यसैगरी छैठौं प्रतिस्पर्धीकाे रूपमा स्टेज आएका बेलबारी ३ की लक्ष्मी पौडेलले एउटा खुला किताब हुँ म, बेलबारी ४ की सुदिक्षा भट्टराईले डाली डाली फुल फुल्यो, बेलबारी ४ कै बिशाल मगरले मर्ने कसैलाई रहर हुँदैन, वडा नम्बर ८ प्रेरिका गुरागाइँले साउने झरीमा र बेलबारी २ की अलिमा लिम्बुले तिमी बिनाको जीवन गाढा भो बोलका गीत गाएका थिए । उनीहरू सबैलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले प्रमाणपत्र दिएका थिए ।

बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा आयोजना भएको आइडलका लागि  गोकुलम रिसोर्टले प्रथम पुरस्कारका लागि २५ हजार, रमिते सामुदायिक वनले दोस्रो हुनेका लागि १५ हजार र सिद्धार्थ सेकेण्डरी स्कुल, बागदेवी सामुदायिक वन उपभोक्ता समुहले पाँच पाँच हजार सहयोग गरेका थिए ।

श्रष्टा समाजका अध्यक्ष हर्कमान तामाङको सभापतित्वमा भएको आइडलको फाइनलमा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी प्रमुख अतिथि थिए । आइडलको फाइनल कार्यक्रम स्रष्टा समाजका सचिव जेवी थुलुङले संचालन गरेका थिए ।

प्रतियोगितामा प्राज्ञ तथा संगीतकार राम धामी, संगीतकार भिम बस्नेत, पुर्व सांसद तथा गायिका मधु गुरुङ, गायक किशोर थुलुङ र संगीतकार शेखर थापा मगरले निर्णायकको भुमिका निभाएका थिए । प्रतियोगिताको निर्णय सुनाउनु अघि संजीव धिमालले केही गीत सुनाएका थिए । निर्णायकको तर्फबाट गायक किशोर थुलुङले २७ बर्षअघि गाएको खोकु छिन्ताङ दुख्यो कि बोलको गीत सुनाएका थिए ।

प्रतियोगीहरुलाइ पाँच वटा गीत रेकर्डिङको अबसर दिइने आयोजक श्रष्टा समाजले जनाएको छ  । गीत रेकर्डिङका लागि संगीतकारहरु भिम बस्नेत, शेखर थापा मगर, बिनोद खम्बु, बिशाल हुमागाइँ, मिलन राई र मोडल अमर खड्काले सहयोग गर्ने भएका छन् ।

शुरुको अडिसन चरणमा करिब डेढ सय सहभागी भएकोमा बैशाख १८ र २१ गते वडा वडामा भएको पहिलो अडिसनबाट २७ जना छनौट भएका थिए । दोस्रो चरणमा जेठ २५ गते भएको दोस्रो अडिसनबाट उत्कृष्ट १० जना छनौट भएका थिए । उत्कृष्ट १० लाई एक महिने प्रशिक्षण समेत दिएको थियो । प्रशिक्षण पाएका उत्कृष्ट १० जनाले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।