धनकुटाका एक युवा जो खाडीमै एक श्रमिक हुँदै पानीजहाज मालिक बने
- २५ श्रावण २०७६, शनिबार
खाडीभित्र दु:ख मात्रै छैन, प्रशस्त अवसर पनि छ । त्यही अवसर छोप्न श्रमिकका रुपमा खाडी छिरेका धनकुटाका आकाश घिमिरे पानीजहाज क्याप्टेन मात्रै बनेनन्, अहिले पानीजहाजको मालिक नै बनेका छन् ।
पुरानो दुबई बर दुबई हो । एउटा सानो समुद्रभन्दा पारिपट्टी नयाँ दुबईको मरिना पर्छ । यही मरिना नै संसारलाई दुबई चिनाउने र पर्यटकलाई आकर्षण गर्ने थलो हो । उच्च सुविधायुक्तको व्यापारिक मल मात्रै छैन । हरेक क्षेत्रमा नाम कमाएका हस्तीहरूको अपार्टमेन्ट यही छ । ती अपार्टमेन्ट समुद्रमा कमलको फूल फुलेजसरी लहरै उभिएका छन् । आनन्द लिन भौतिक रूपमा तयार गरिएका साधनहरु यहीं छन् ।
दुबईको मरिनास्थित समुद्रको किनारमा ‘दुबई मरिना एच क्लब’ छ । जहाँ ५ सय ५० भन्दा बढी सुविधायुक्त पानीजहाजलाई आकर्षक रूपमा पार्किङ गरी राखिएका छन् । जसमध्ये एउटा ‘मेजेस्टी ६१’ नाम गरेको डीपी २१७६ नम्बरको पानीजहाजको २५ प्रतिशत मालिक हुन्, ३२ बर्षिय आकाश घिमिरे ।
नाम्जाङ सिदुवा–धनकुटाका ३२ वर्षीय आकाश कसरी विश्वस्तरीय क्लब मरिनाका सदस्य भए ? कसरी जहाजको मालिक बन्न पुगे ? यसको कथा बुझ्न दुबई–कतारको १२ वर्षे दु:ख संघर्ष खोतल्नुपर्छ ।
आकाश एकैपटक सेतो सर्ट, कालो पाइन्ट र क्याप्टेनको टोपी लगाउन दुबई छिरेका हैनन् ।
सन् २००६ तिरको कुरा हो । भर्खरै १२ कक्षा पास गरेका थिए । हातमा स्काभेटर चलाउने सीप मात्रै थियो । रिभर ओभरसिज म्यानपावरलाई ६५ हजार रुपैयाँ बुझाएर कतारमा स्काभेटर चलाउन उडे । सम्झौता गरेअनुसार कम्पनीले स्काभेटर चलाउन दिएन । नीलो डांग्री (पोसाक) दिएर लेबरमा बेल्चा हान्न पठाए ।
तर पनि कतारी कम्पनीमा ६ महिनाभन्दा बढी बेल्चा हान्नुपरेन । ‘म अंग्रजी राम्रैसँग बोल्थें । कम्पनीले मलाई साइडमा पठाएन । अफिसभित्रै सहयोगी बनायो,’ उनले भने, ‘अफिसभित्र छिरेपछि काम सिक्न थालें । मलाई खरिद गर्ने विभागमा राखियो । कम्पनी छोड्ने बेलासम्म हर्ताकर्ता भइसकेका थिएँ ।’
कतार दुई वर्षसम्म बसेर आकाश नेपाल फर्के । फर्कनु अघि नै उनले सवारी चालक अनुमति बनाइसकेका थिए । नेपाल फर्केको दुई महिनाभित्रै उनी दुबई गए । ‘दुबईमा आफन्त भएकोले उनले कुन भिसामा आउने भनेर सोधे । उनीहरूले कतारी लाइसेन्स भए ड्राइभिङ काममा आइज, सजिलो हुन्छ भने, । उनी ड्राइभिङ काममै गए । संयोगले उनी दुबई मरिना एच क्लबमै गाडी चलाउन पुगे ।
उनले मरिनामै गएपछि जहाज राम्रोसँग देखेका थिए । सेतो जहाज पानीमा सरर चलेको देख्दा मन लोभियो । त्यतिखेर आकाशलाई लाग्यो, ‘अब सडकमा गाडी होइन, पानीमा जहाज कुदाउने हो ।’
‘के भए जहाज चलाउन पाइन्छ ’ भनेर उनले मरिना क्लबमा आउनेहरूसँग बुझ्थे । कसैले ६ महिने कोर्स उत्तीर्ण भएपछि जहाज चलाउन पाइन्छ भनिदियो ।
ड्युटी साँझ ६ बजेदेखि बिहान ३ बजेसम्म हुन्थ्यो । कलेजको समय ९ देखि ६ बजेसम्म । काम सकिनासाथ पानीजहाज सिक्ने कलेजका लागि तयार हुन्थे । ‘कैयांै दिनसम्म त म कोठामा पनि गइनँ । गाडी नै मेरा लागि कोठाजस्तो हुन्थ्यो,’ उनले भने, ‘मसँगै आउने साथीहरू अहिले पनि मेरो त्यतिखेरको मिहिनेतलाई सम्झन्छन् । अहिले सम्झँदा आफंैलाई लाग्छ, मैले त्यो ६ महिना कसरी बिताउन सकें ?’
खाने, बस्ने र सुत्ने कुनै ठेगान थिएन । मुस्किलले दिनमा दुई/तीन घण्टा सुत्थें । कलेजको शुल्क ३५ हजार दिराम (१० लाख ५० हजार रुपैयाँ) थियो । कलेजलाई तिर्ने पैसा भने सबै तलबबाटै जुटाउनु पर्ने । ‘१५ सय दिराम तलब आउँथ्यो । कहिलेकाहीँ टिप्स पाउँथें,’ उनले भने, ‘मेरो घरमा पैसा माग्ने कोही थिएन ।’
६ महिनाको कोर्स पूरा गरेपछि उनले तुरुन्तै जहाज चलाउन पाएनन् । हातमा सीप छ तर चलाउन जहाज छैन । ‘केन्ट भन्ने एकजना चिनेको थिएँ । उसको मरिनामा जहाज थियो । उनले बिदाको दिन मलाई आफ्नो क्रूर मेम्बर (हेल्पर) बनाएर लग्न थाले । उनी सँगै बस्थे । म जहाज चलाएर हिँड्थें, उनले एक दिनको ५ सय दिराम दिन्थें ।’
पानी जहाज चढ्न आउने सामान्य खालको वर्ग हुँदैन । ‘एक दिनका लागि ५० हजार दिराम (१५ लाख रुपैयाँ) खर्च हुन्छ ।
जहाज चलाउन थालेपछि बढीजसो जहाज मालिकसँग सम्बन्ध हुन गयो । त्यही क्रममा मिस्टर जेनसँग भेट भयो । उनले आफ्नो जहाजको क्याप्टेन बनाए । महिनाको ४ हजार ५ सय दिराम तलब दिन तयार भए । पानीमा जहाज कुदाउने सपना जेनले पूरा गरिदिए । त्यसपछि आकाशले गाडी चलाउने काम छोडिदिए ।
उनीसँगको सहयात्रा दुई वर्षसम्म निरन्तर भयो । मजेनको ११ वटा जहाज थियो । चार जना मात्रै क्याप्टेन । चार जनाले ११ वटा जहाजको व्यवस्थापन गर्नुपथ्र्यो । एउटा जहाज लिएर गयो । फर्केर आउँदा अर्को जहाजमा ग्राहक प्रतिक्षामा बसिरहेका हुन्थे । त्यसबेला धेरै प्रेसर हुन्थ्यो । धान्न पनि गाह्रो हुन्थ्यो ।
त्यही बेला एक जना बेल्जियम नागरिक एउटा प्रस्ताव लिएर आए । उनी यूएईका ठूला व्यापारी पनि रहेछन् ।
उनको प्रस्ताव थियो ‘म प्राइभेट जहाज लिँदै छु । यसको क्याप्टेन तिमीलाई बनाउँछु । तर म महिनावारी तलब दिन्न । २५ प्रतिशत हिस्सा दिन्छु । मैले चाहेको बेला मसँग हुनुपर्छ । बाँकी तिमीले यसको व्यवस्थापन गर्नुपर्छ’ ।
जहाजको मूल्य कम्तीमा ३० लाख दिराम (झन्डै ९ करोड रुपैयाँ) पर्थ्यो । त्यसको २५ प्रतिशत हिस्सा पुर्याउन कम्तीमा २ करोड २५ लाख रुपैयाँ आकाशले जुटाउनुपर्दथ्यो । तर पनि जहाज चलाउँदा तलबभन्दा टिप्स आउने र कहिलेकाहीँ एकै जनाले पनि १० हजार दिराम (३ लाख रुपैयाँ) सम्म दिने भएकोले पैसाको खाँचो थिएन । त्यसमा पनि कमाएको पैसा सबै यूएईमा राखेको हुनाले उनले राखेको प्रस्ताव स्वीकार गर्न आकाशलाई खासै अफ्ट्यारो भएन ।
जहाजमा हिस्सा (शेयर) हालेपछि उनी मरिना क्लबकोसदस्य भए । जहाजको मालिक बने । त्यसयता आकाश त्यो ‘मेजेस्टी ६१’ जहाजमा ‘भीआईपी’ ग्राहकलाई ‘पर्सियन समुद्र’ डुलाइरहन्छन् । – होम कार्की, कान्तिपुर