दुई दर्जनभन्दा बढी देशमा बिस्तारित झापाली समाज, अबसर र चुनौतीहरु

  • २९ भाद्र २०७६, आईतवार

झापा जिल्लाबाट वैदेशिक रोजगारीको सिलसिलामा र अन्य विभिन्न उदेश्य लिएर विश्वका विभिन्न मुलुकहरुमा गएका झापालीहरुले सामाजिक उदेश्य राखेर स्थापित झापाली समाज मुख्यतः झापा जिल्लाको सामाजिक, शैक्षिक लगायत समग्र विकासमा योगदान गर्ने उदेश्य लिएर दुई दर्जन भन्दा बढी देशहरुमा गठन भइसकेको छ ।

झापाली समाजहरुको छाता संस्थाको रुपमा दुई बर्ष अघि ‘’समृद्द झापाको लागि अन्तरास्ट्रिय झापाली समाज” भन्ने नाराका साथ स्थापना भएर क्रियासिल रहेको छाता संस्था हो, अन्तर्राष्ट्रिय झापाली समाज । २०७४ असोज २५ गते झापाको बिर्तामोडमा पहिलो सम्मेलन गरेको दुई बर्षपछि अन्तर्राष्ट्रिय झापाली समाज २०७६ साल असोज २५ र २६ गते बिर्तामोडमा नै आफ्नो दोस्रो अन्तराष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ ।

देश-बिदेशमा रहेका सम्पुर्ण झापाली दाजुभाई, दिदिबहिनी, तथा शुभचिन्तकहरुको सहभागितामा हुने   सम्मेलनले मुख्यतः नयाँ कार्यसमिती चयन गर्नेछ । समितीको अध्यक्षमा वर्तमान वरिस्ठ उपाध्यक्ष छत्र लिम्बुले अध्यक्षका निमित्त आकांक्षा देखाएका छन् ।
२०७४ सालमा सम्पन्न पहिलो सम्मेलनले सुरुंगा स्थायी घर भई अस्ट्रेलियामा रहेका सामाजिक अभियन्ता दिनेश पोखरेलको अध्यक्षतामा विश्वका १८ देशमा रहेका झापाली प्रतिनिधिहरु सम्मिलित समिति गठन गरेको थियो । हालसम्म आइपुग्दा २८ वटा देशमा आफ्नो संजाल विस्तार गरेको यो संस्थाले आसन्न सम्मेलनमा दुई दर्जन भन्दा बढी देशका प्रतिनिधिहरुको सहभागिता रहने भएको छ ।  अन्तराष्ट्रिय झापाली समाजमा अस्ट्रेलिया, कोरिया, युएई, इजरायल, कुवेत, जापान, कतार, हङकङ, बेल्जियम, अमेरिका, बहराइन, लक्जेम्बर, नेदरल्यान्ड, जर्मनी, साइप्रस, इङ्ल्यान्ड, क्यानडा,मलेसिया लगायतका देशहरु संलग्न रहेका छन ।

बि. सं. २०७३ सालमा झापा जिल्लाका विभिन्न नदीहरुमा आएको बाढीबाट प्रभावित भएका बाढीपीडितहरुलाई झन्डै १५ लाख बराबरको राहत सामाग्रीहरु वितरण गरेको यस संस्थाले सोहि बखत झापाको कमल खोलामा आएको बाढीबाट विस्थापित भएका कमल गाउँपालिका-१ मा रहेका ९ घर परिवारका निमित्त ९ वटा पक्की घर निर्माण गरिदिने घोषणा गरेको थियो । लागत अनुमान भन्दा बढी लागत खर्चका कारण समयमा निर्माण सम्पन्न गर्न नसकेपनि निर्माणाधीन मिस्त्री नमुना वस्तीको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । झापाली समाजका अध्यक्ष दिनेश पोखरेलले आगामी सम्मेलन भन्दा अगावै मिस्त्री वस्तीको काम सम्पन्न गरि वस्ती हस्तान्तरण गरिसक्ने लक्ष्य रहेको जानकारी दिएका छन ।
मुख्यतः वैदेशिक रोजगारिका निमित्त प्रवासीएका झापालीहरू सँगै अन्य विभिन्न उदेश्यले प्रवासमा रहेका अगुवा झापालीहरूले झापाका निमित्त थालनी गरेको यो सामाजिक अभियानलाई मुक्तकण्ठले प्रशंसा गर्नैपर्छ । दुई बर्षको अवधिमा संस्थाले हासिल गरेको संस्था विस्तारको काम र झापा जिल्लामा गरेको राहत वितरण तथा मिस्त्री वस्तीको निर्माण काम आँफैमा महत्वाकांक्षी हुन । अझै भन्नुपर्दा दोहा र सिउलमा सम्पन्न क्षेत्रीय भेला द्वारा घोषित कार्यक्रम त झनै महत्वाकांक्षी छन, जुन कामहरुको कार्यान्वयन हेर्न बाँकी नै छ ।

देशगत रुपमा धेरै थोरै काम गरिरहेका झापाली समाजहरुको छाता संस्था भैसकेपछि अन्तरास्ट्रिय झापाली समाजले २८ वटा देशमा रहेका झापाली समाज सँग सुमधुर सम्बन्धको स्थापित गर्न जरुरी देखिएको छ ।सँगै सबै प्रति समान व्यवहार गर्नुपर्ने पनि देखिन्छ ।

संस्था विस्तार भएका देशहरु हेर्दा कुनै देशहरुमा रहेका व्याक्तिहरुको औसत आय राम्रो देखिन्छ भने कुनै देशहरुमा रहेका व्यक्तिहरुको औसत आय त्यति राम्रो देखिदैन । त्यसैले संस्थाका कार्यक्रमहरु गरिदा वा हुँदा महत्वपूर्ण मानिने आर्थिक पाटोमा संस्थाले औसत आयलाई मध्यनजर राख्नैपर्छ । यदि यसो गरेको खण्डमा संस्था वाहिर रहेका झापालीहरू समेत गोलबद्द हुँदै जानेछन तर केवल आर्थिक पाटोलाई मात्र सर्वेसर्व मानेर संस्थालाई अघि लैजान खोजियो भने अन्तरास्ट्रिय झापाली समाज केहि पैसावाल व्याक्तिहरुको पेवा जस्तो त हुने नै छ यो सँगै देशगत रुपमा रहेका औसत आय कम भएका झापाली समाजहरु अन्तरास्ट्रियको छाता बाट नबाहिरेलान भन्न समेत सकिन्न । यो विषयमा अन्तरास्ट्रिय झापाली समाजले गहन गरि सोच्दै सचेत हुनैपर्दछ ।
देशगत रुपमा रहेका समाजहरुका समेत झापामा आ-आफ्नै सम्पर्क व्याक्ति छन त कतिका त सम्पर्क समितीहरु नै क्रियासिल रहेका छन ।

तर दुई दर्जन भन्दा बढी देशहरुमा संस्था रहेको अन्तरास्ट्रिय झापाली समाजको हालसम्म नेपालमा आधिकारिक सम्पर्क समिति छैन, जसका कारण संस्थाले बेला-बेला विभिन्न समस्याहरु झेल्दै आएको छ । यसलाई निराकरण गर्न देशगत रुपमा रहेका अधिकतम झापाली समाजहरुलाई अपनत्व हुने गरि अन्तरास्ट्रिय झापाली समाजले आफ्नो नेपाल सम्पर्क समिती गठन गर्दै नेपालमा रहेका देशगत सम्पर्क समिती र व्याक्तिहरुको व्यवस्थित साझा कार्यालयको व्यवस्था गर्न सके सबै काम छिटो,छरितो र प्रभावकारी हुन सक्नेछ जसको फाइदा २८ वटा देशमा रहेका झापाली समाजहरुले नै लिन सक्नेछन ।