खदम हिल साकोसले भब्य रूपमा सम्पन्न गर्यो  प्रथम बार्षिक साधारणसभा  

  • १६ आश्विन २०७६, बिहीबार

मोरङको केराबारी गाउँपालिका १० मा अबस्थित खदम हिल बचत तथा ऋण सहकारी संस्था लि. को प्रथम बार्षिक साधारणसभा सम्पन्न भएको छ । 

 केराबारी ३ स्थित पहाडी इलाकामा पर्ने पर्यटकीय गन्तव्य भोगटेनीमा सो साधारणसभा भएको हो । संस्थाका सचिव अम्बिका भण्डारीको संचालन र अध्यक्ष रोहितकुमार कटुवालको अध्यक्षतामा भएको साधारणसभामा नवीन थापा मगरको बिशेष आतिथ्यता र केराबारी गाउँपालिकाका अघ्यक्ष रोहित बहादुर कार्कीको प्रमुख आतिथ्यता थियो । 

साधारणसभाले अध्यक्ष रोहितकुमार कटुवालद्वारा प्रस्तुत भावी कार्ययोजना, सचिव अम्बिका भण्डारीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष गीता काप्रीले प्रस्तुत  आर्थिक प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक रोजन सापकोटाले प्रस्तुत गरेको लेखा प्रतिवेदन पारित गरेको छ । त्यसैगरी साधारणसभाले नीति निर्माण उपसमितिको तर्फबाट संयोजक गोकुलबहादुर थापाले प्रस्तुत गरेको संस्था संचालन कार्यबिधि र कर्मचारी प्रशासन कार्यबिधी समेत पारित गरेको छ । 

त्यसैगरी साधारणसभाले बिनिमय संशोधन लगायत रिक्त पदहरुको पदपूर्ति समेत गरेको छ । साधारणसभाले रिक्त हुन आएको सचिव पदमा चण्डी थापालाई चयन गरेको छ  । 

साधारणसभामा बचतकर्ता र ऋणी मध्येबाट उत्कृष्ट बचतकर्ता र असल ऋणी छनौट गरी ५ जनालाई सम्मानित गरिएको छ । सम्मानित हुनेहरूमा उत्कृष्ट वाल बचतकर्तामा निगम बस्नेत, असल ऋणीमा हेमकुमार गौतम, असल दैनिक कर्जा बचतकर्तामा सुख बहादुर बिक ,उत्कृष्ट दैनिक बचतकर्तामा मान बहादुर लिम्बु र  उत्कृष्ट मासिक बचतकर्तामा कल्पना थापा मगर छन् । उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले प्रसंसापत्र र मायाको चिनोद्वारा सम्मान गरेका थिए । 

साधारणसभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि केराबारी गाउँपालिका अध्यक्ष रोहित बहादुर कार्कीले केराबारी गाउँपालिका क्षेत्रमा कृषकहरुको बाहुल्यता रहेको र केराबारी गाउँपालिकाले पनि कृषिमा अनुदान दिने कार्यक्रमलाई प्राथमिकता दिएको बताए । उनले सहकारी संस्थाहरुले  केराबारी गाउँपालिकासंग सहकार्य गरी संस्थामार्फत दिइने ऋण र अनुदान प्राप्त गर्नसक्ने बताए । कार्कीले नयाँ सहकारी ऐनमा एक ब्यक्ति एक सहकारीको अबधारणा ल्याइएको र सहकारीहरुले निकट भबिस्यमै मर्जर प्रक्रियामा जानुपर्ने भएकोले त्यसको पहल गर्न सहकारी संस्थाहरुलाइ आग्रह गरे ।

नयाँ सहकारी ऐन अनुसार २०७५ कार्तिकमा केराबारी गाउँपालिकामा पहिलोपटक दर्ता भएको खदम हिल साकोसमा १ सय २ जना शेयर सदस्य छन् । १ करोड ६५ लाख चुक्ता शेयरपुँजी भएको संस्थाले २०७५ मंसिरदेखि २०७६ असार मसान्तसम्ममा २ करोड ३८ लाखको कारोबार गरेको छ । पहिलो बर्ष शेयर सदस्यहरुलाइ शेयरको ८ प्रतिशत बराबरको लाभांश दिने संस्थाले जनाएको छ ।