बेलबारीमा देशभरका साहित्यकारहरुको जमघट, हाइकु सङ्ग्रह ‘सम्बन्ध शुत्र’ लोकार्पण

  • २३ कार्तिक २०७६, शनिबार

सर्जक तथा साहित्यकारहरुका हाइकु समेटिएको संयुक्त हाइकु सङ्ग्रह ‘सम्बन्ध सुत्र’ को लोकार्पण तथा हाइकु वाचन कार्यक्रम सम्पन्न भएको छ ।

पूर्वाञ्चल हाइकु संंघको आयोजनामा मोरङ बेलबारी नगरपालिकास्थित आदिवासी जनजाति सभा हलमा कार्यक्रम सम्पन्न भएको हो ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले हाइकु वाचन गरेर कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि मेयर सुवेदीले साहित्य क्षेत्रको विकासको लागि नगरपालिकाको सधैँ सहयोग रहने बताए । उनले   साहित्य क्षेत्रको विकासको लागि के गर्नुपर्छ भन्ने सल्लाह सुझाव दिन आग्रह गरे ।

कार्यक्रममा वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल, नेपाल हाइकु सङ्घका केन्द्रीय अध्यक्ष चेतनाथ धमला, कवि वैजयन्ती मिश्र, वरिष्ठ गजलकार मधु पोखरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा रुपन्देही, काठमाडौँ, भक्तपुर, भोजपुर, सुनसरी, मोरङ र झापाबाट स्रष्टाहरूको सहभागी थिए  ।

‘सम्बन्ध सूत्र’ कृतिमा नेपाल भरिका १ सय ६० जना स्रष्टाहरूको रचनालाई समेटिएको छ । कृतिमा  १ हजार ५ सय ७२ वटा हाइकु छन् ।

‘सम्बन्ध सूत्र’ को सम्पादक समूहमा तिला लेकाली, ईरान राई, हेमसागर पोखरेल, इन्द्रसुर बेल्टारे, विष्णु न्यौपाने, दीपक सुवेदी र बिन्दु दाहाल ‘मूकदर्शक’ छन् ।

संयुक्त हाइकु सङ्ग्रह लोकार्पण तथा प्रतिनिधि हाइकु वाचन कार्यक्रम पूर्वाञ्चल हाइकु सङ्घका अध्यक्ष तिला लेकालीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा स्रष्टाहरूले हाइकुहरु वाचन गरेका थिए ।