भुमि अतिक्रम विरुद्ध उत्तरी मोरङका श्रष्टाहरुले गरे साहित्यिक खबरदारी

  • २९ कार्तिक २०७६, शुक्रबार

कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका नेपाली भुमि अतिक्रम विरुद्ध उत्तरी मोरङका श्रष्टाहरुले  साहित्यिक एबम सांगीतिक खबरदारी कार्यक्रम गरेका छन् ।

बेलबारी साहित्य बिकास समिति, श्रष्टा समाज बेलबारी  र बिराट साहित्य समाज सुन्दरहरैंचाको आयोजनामा बेलबारी ३ स्थित पश्चिम बस स्टेसन छेउमा ‘श्रष्टा आवाज’ कार्यक्रम भएको हो । बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीको प्रमुख आतिथ्यता र बेलबारी साहित्य बिकास समितिकी अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा  शुक्रबार भएको कार्यक्रममा श्रष्टाहरुको उल्लेख्य उपस्थिति थियो । कार्यक्रममा दर्जनौं श्रष्टाहरुले देशप्रेमी साहित्यिक तथा सांगितिक प्रस्तुति दिएका थिए ।

साहित्यिक खबरदारी कार्यक्रममा उमा सिजापति, छबि बैरागी घिमिरे, राजेन्द्र कार्की, यज्ञ सुवेदी, अमृत आचार्य, बिदुर सुवेदी, बिष्णु भण्डारी, तिला लेकाली, सुदिक्षा भट्टराई, धनजित पराजुली, राधा भट्टराई, बिवेक बराइली, लक्ष्मण कोइराला, रमेश निरौला, गोबिन्द चोङ्वाङ, राजु परियार, इरन राइ, उमानाथ भट्टराई, तारा पराजुली लगायतले रचना वाचन गरेका थिए । 

 पहिले पहिले कापीका पानामा लेखिएका रचना वाचन गर्ने श्रष्टाहरुले प्रबिधिको उपयोग गर्दै मोबाइलमै तयार गरिएका रचना वाचन गरेको देखिन्थ्यो । 

कार्यक्रममा अधिकांश साहित्यकारहरुले भारतको दादागिरी विरुद्धका रचना ओकलेका थिए  । कार्यक्रममा संयुक्त राष्ट्रसंघीय घोषणापत्र उल्लंघन गरेकोदेखि अतिक्रमलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्नेसम्मका आवाज उठाइएको थियो । 

कार्यक्रममा सन्जीव धिमाल र प्रकाश भट्टराईले गीत प्रस्तुत गरेका थिए । सगरमाथा इङलिस स्कुल लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुले देशभक्त गीतमा नृत्य समेत प्रस्तुत गरेका थिए । श्रष्टा आवाज अन्तरगत शनिबार बिराटचोकमा पनि कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएका छन् ।