दोस्रो कुसुमे उद्यौली कप सुरु, आयोजकलाई ट्राइब्रेकरमा पराजित गर्दै दमक बिजयी

  • २० मंसिर २०७६, शुक्रबार

मोरङको केराबारी ९ कुसुमेमा आयोजित दोस्रो कुसुमे उद्यौली कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

कुसुमे साइनिङ क्लबको आयोजनामा क्लवको खेल मैदान अर्थात सहिद स्मृति  प्रावि अगाडिको ग्राउन्डमा शुक्रबार भएको प्रतियोगिताको केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बुले उद्घाटन गरेकी थिइन् । 

उद्घाटन खेलमा आयोजक कुसुमे साइनिङ क्लबलाई टाइबे्रकरमा पराजित गर्दै दमक बिजयी भएको छ । निर्धारित समयभित्र खेल गोलरहित बराबरी भएपछि टाइबे्रकरबाट खेलको निर्णय लिइएको थियो । टाइबे्रकरमा दमक ५–४ गोल अन्तरले विजयी भएको छ ।ट्राइब्रेक्ररमा झापाको तर्फबाट सागर लिम्बु, विकास लामा, मोहन गुरुङ, रोशन तामाङ र सञ्जीव बुढाथोकीले गोल गरेका थिए ।
आयोजकको तर्फबाट महेश लिम्बु, हिकमेन लिम्बु र दिवस गुरुङले गोल गरेका थिए भने सन्दीप लिम्बुले गरेको प्रहार पोस्टको पोलमा लागेर बाहिरिएको थियो । झापाले ५ गोल गरे भने आयोजकले ३ गोल मात्र गर्न सके ।
उद्घाटन खेलका म्यान अफ दि म्याच झापाका खेलाडी रोशन तामाङ घोषित भएका छन् । तामाङले रु.१ हजार ५ सय नगद पुरस्कार प्राप्त गरेका छन् ।

सो खेलअघि कुसुमे भेट्रान टिम र लेटाङ भेट्रान टिमबिच मैत्रीपुर्ण फुटबल खेल भएको थियो । सो खेलमा कुसुमे भेट्रान टिम ३-१ ले विजयी भयो । सो खेलमा आयोजकको तर्फबाट जीवन कार्की, निरु राई, सुवास गुरुङले गोल गरे भने लेटाङको तर्फबाट सन्त राईले गोल गरेका थिए  । 

शनिबारको खेल शसस्त्र प्रहरी पुर्वाञ्चल र लेटाङ फुटबल क्लब विच हुने आयोजक कुसुमे साइनिङ क्लबका अध्यक्ष भक्तशेर लिम्बुले जानकारी दिए ।

केराबारी गाउँपालिकाको सहयोगमा भैरहेको प्रतियोगिताको फाइनल आउँदो मंसिर २६ गते हुने छ । प्रतियोगिताको विजेताले ५१ हजार रुपैयाँ र उपविजेताले ३१ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । खेलमा ८ वटा टिमको सहभागिता रहेको छ ।

किराँतहरुको धार्मिक तथा सांस्कृतिक पर्व उद्यौलीलाई समेत जोडेर प्रतियोगिता आयोजना भएको हो । खेलसँग संस्कृतिलाई पनि जोडेर दुवैको संरक्षण र विकासको प्रयास गरिएको आयोजकले जनाएको छ ।