आठ करोड लागतमा बन्नेभो केराबारी गाउँपालिकाको सुविधासम्पन्न ठूलो भवन 

  • २४ पुष २०७६, बिहीबार

अन्यन्त साँघुरो र सानो भवनबाट कार्य संचालन गरिरहेको मोरङको केराबारी गाउँपालिकाले सुबिधा सम्पन्न नयाँ भवन निर्माण गर्ने भएको छ । 

दाताले दिएको १० कठ्ठा र गाउँपालिकाले खरिद गरेको ८ कट्ठा समेत गरी गाउँपालिकाको स्वामित्वमा केराबारी १० बगैंचामा रहेको १८ कठ्ठा क्षेत्रफल जग्गामा नयाँ भवन बन्ने भएको हो । सात करोड ७६ लाख रुपैयाँ लागत इष्टमेट गरिएको भवन भुइँ तलासहित साढे ३ तलाको हुनेछ । गाउँपालिकाका इन्जिनियर मनोज बस्नेतले दिएको जानकारी अनुसार साना र ठुला बैठक हल तथा सभाहल समेत रहने नयाँ भवनमा ३० भन्दा बढी कोठाहरु हुनेछन् ।

भवन निर्माणका लागि नापनक्सा बनाउने काम भइसकेको र यसै बर्ष टेण्डर आब्हान गरी पहिलो चरणको निर्माणका लागि ठेक्का लगाइने केराबारी गाउँपालिका अध्यक्ष रोहितबहादुर कार्कीले जानकारी दिए ।

बहुबर्षे योजना अन्तरगत बन्ने गाउँपालिका भवन निर्माणका लागि गाउँपालिकाले यस बर्ष २ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । भवन निर्माणका लागि केन्द्रिय र प्रदेश सरकारले बजेट दिनसक्ने भएपनि भवन निर्माणका लागि बजेट माग नगरिएको र आफ्नै आन्तरिक श्रोतबाट भवन निर्माण शुरु गर्न लागेको अध्यक्ष कार्कीले बताए । भवन निर्माण दुई बर्षभित्र सक्ने योजना रहेको उनले बताए ।

केराबारी गाउँपालिकाले गत बर्ष गापाको भवन निर्माणका लागि जग्गा खोजी तथा ब्यबस्थापन गर्न केराबारी १० का वडाध्यक्ष जंगराज खवासको संयोजकत्वमा एक समिति निर्माण गरेको थियो । त्यस क्रममा केराबारी १० कुवापानी टोलमा १० कट्ठा जमीन दिने दाता भेटिएपछि गाउँपालिकाले त्यही स्थानमा थप ८ कठ्ठा जग्गा खरिद गरी भवन बन्ने स्थानको टुंगो लगाएको थियो । गाउँपालिकाको भवन निर्माणका लागि केराबारीका खड्ग श्रेष्ठ र निर्मल श्रेष्ठले ५ कठ्ठा तथा पदम बहादुर मगरका परिवारले ५ कठ्ठा गरी १० कठ्ठा जग्गा दिएका थिए ।

 हाल केराबारी गाउँपालिका कार्यालय साबिक केराबारी गाबिसको भवनमा रहेको छ । केराबारी १० स्थित बजार क्षेत्रमै रहेकोे डेढ दुई कठ्ठा क्षेत्रफल जग्गामा बनेको भवन सानो र साँघुरो भएका कारण गाउँपालिकाले सर्वसाधारणको घरका कोठा  भाडामा लिएर समेत कार्य सञ्चालन गर्दै आएको छ । गाउँपालिका कार्यालय नयाँ भवनमा सरेपछि हाल गाउँपालिका रहेकोे भवनमा केराबारी १० को वडा कार्यालय रहनेछ ।

केराबारी गाउँपालिका क्षेत्रफलको हिसाबले मोरङ जिल्लाकै सबैभन्दा ठुलो स्थानीय तह हो । यस गाउँपालिकाका कतिपय वडा कार्यालयहरुको समेत आफ्नै भवन छैन । हाल केही वडा कार्यालय भवन निर्माण हुने चरणमा छन् । – अम्बिका भण्डारी