स्मार्ट मात्रै बन्न खोजेर कसरी हुन्छ हाम्रो उन्नति र प्रगति ?

अम्बिका भण्डारी 

  • ५ माघ २०७६, आईतवार

युएई भनौं दुबईमा थिएँ । छुट्टीको दिन अर्थात् शुक्रबार थियो । हप्ताभरको ड्युटीले थकित ज्यानलाई आराम गर है भाइ भन्नेबाहेक त्यो दिनको कुनै पूर्वयोजना थिएन । बिहान इमेलमा आएका समाचार अनलाइनमा प्रकाशन गरेपछि होटलतिर गएँ । खाने क्रममा दुई÷चार वर्षदेखि दुबईतिरै बस्ने र ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भन्ने गीत गाएर रुञ्चेमा कहलिएका प्रकाश पौडेललगायतसँग भेट भयो । गफगाफकै क्रममा थाहा भयो त्यही दिन नेपाल र युएईबीच टी–ट्वाण्टी वल्र्डकप अगाडिको एउटा क्रिकेट म्याच रहेछ । परिचित कसैले भन्यो– ल पत्रकारज्यू, आज सारजाहमा नेपाल र युएईको क्रिकेट म्याच हेर्न जानुपर्छ, जाने बेलामा म कल गर्छु, हाम्रै गाडीमा जाउँला । 

त्यसै पनि घुमफिर गर्न भनेपछि रमाउने मान्छे, त्यसमाथि छुट्टीको दिन ! नौलो ठाउँमा जान किन पछि सर्थें र ! त्यसैले कोठामा पुगी पोशाक बदलेर बरदुबई आइहालेँ । 

म दुबई बस्थें, सारजाह अर्को स्टेट थियो । हुन त टाढा होइन तैपनि मलाई उताको धेरै लोकेसन थाहा नभएको मात्रै । 

हामी सारजाह पुग्दा क्रिकेट शुरु हुनै लागेको रहेछ । नेपाली टोली युएईको टोलीसँग टी–ट्वाण्टी विश्वकपमा पुग्नका लागि एउटा महत्वपूर्ण म्याच खेल्दै थियो । त्यसैले नेपाली दर्शकमय भएको थियो रंगशालाको दर्शकदीर्घा । छुट्टी हुनेहरू त आउने भइहाले, शुक्रबारे छुट्टी नहुनेहरु पनि कम्पनीबाट बिदा मिलाएरै हेर्न आए । 

गाउँघरतिरको भाषामा मुङग्रोले बल हान्ने खेल अर्थात् क्रिकेट चलिरहेको थियो । नेपाली टिमलाई सपोर्ट गर्ने दर्शक चार/पाँच हजार जति थिए होलान् । नेपाली टिमले रन ल्याउँदा, छक्का चौका हान्दा वा विकेट झार्दा कान नै रन्किनेगरी हुटिङ हुन्थ्यो । तर, युएईको टिमले रन बटुल्दा त के चौका, छक्का ल्याउँदा वा विकेट झार्दा पनि उसको पक्षमा कराउने कोही थिएन । रंगशालामा जति दर्शक थिए ती नेपाली मात्रै । 

खेल हेर्दै गर्दा दिमागमा ठूलै भुइँचालो गयो । सोचेँ के नेपालीबाहेक युएईमा भएका अरू मान्छेले क्रिकेट बुझ्दैनन् ? कि बुझेर पनि हेर्दैनन् ? नेपालीलाई मात्रै क्रिकेट खेलमा यति धेरै आशक्ति किन ? आफ्नै देशले होम ग्राउण्डमै खेलेको अन्तर्राष्ट्रिय स्तरको खेल हेर्न किन आउँदैनन् युएईवासी ? हुन त युएईमा रैथाने अरबीहरू कूल जनसंख्याको ८/१० प्रतिशत पनि छैनन्, बाँकी सबै आगन्तुक । तैपनि, कमसेकम दुई/चार जना त आउनुपर्ने नि, ए अचम्म ! खेल सकिएर फर्कंदा दुई/चार वर्षयता युएईमै रासोबासो गरिरहेका एक मित्रलाई सोधें– रंगशालामा युएईको समर्थन गर्ने कोही देखिएनन् किन ? साथीले सहजै उत्तर दियो– किनभने उनीहरूलाई यस्ता खेल हेर्ने फुर्सद नै हुन्न । योभन्दा ठूला कैयौं बिजनेस छन् । उनीहरू खेल हेर्न आउँदैनन् किनभने यो बिजनेसको विषय नै होइन । युएईले खेल जित्दा उनीहरूलाई केही फरक पर्दैन र हार्दा पनि । हेर्नैपरे घरमै बसेर हेर्छन् । 

लाग्न थाल्यो ओहो ! हामी त साँच्चिकै मूर्ख पो रहेछौं कि क्या हो ! साँच्चै खेल हेरेर के पाउनु । खेलाडीको काम खेल्ने हो तर हामी हेरुवाको के अर्थ ? न हामीले हेरिदिएर नेपाली खेलाडीले जित्ने हो न त नेपाली खेलाडीले जितेर हाम्रो जीवनमा केही परिवर्तन आउने ! टीभीमा हेरेर प्रत्यक्ष देख्दै नदेखेको, चिन्दा पनि नचिनेको सात समुद्रपारिको मेस्सी, रोनाल्डो, वाटसन, मालिंगा आदि के–के नामधारी खेलाडीको पक्ष विपक्षमा कुर्लने हामी कस्ता मूर्ख ? कुरा गर्छौं समृद्धिको तर काम गर्छौं ब्यर्थको, धत्तेरिका !

त्यही दिनदेखि घण्टौं टीभीमा खेल हेर्ने अनि फलानोले जित्यो भन्दै आत्मरती लिने बानी छाडें । मोबाइलमा क्याण्डिक्रस र कोलब्रेक आदि खेल्न पनि छाडिदिएँ । युएईबाट फर्केर भारतका दुई चारवटा बिजनेस सेमिनारमा भाग लिएपछि टीभीमा हेरिने बिदेशी गेम वा सिरियल मात्रै होइन, मोबाइल गेम त्यागिदिएँ र घण्टौँसम्म अरूको कुरा काटेर गरिने उपलब्धिविहीन चिया गफ छाडिदिएँ । 

तर, नेपाली संस्कार र प्रवृत्ति न हो । यहाँ व्यक्ति बदलिएर मात्रै हुनेवाला के पो छ र ? देश र समाज नबदलिएसम्म । देश दलीय सिण्डिकेटको चक्रब्युहमा फसेको छ । नीति होइन, दल र नेताको निगाहमा चल्ने देशमा देश बदल्ने राजनीति मात्रै होइन, अरू चिज पनि हुन सक्छन् भन्ने सोचाइका मेरा कुरा कसले पो पत्याउने !

प्रदेश १ सरकारले खेलाडीलाई प्रोत्साहित गर्दै खेलको उपयुक्त वातावरण निर्माण गर्ने भनेर ४२ करोड बजेट विनियोजन गरेको छ यस वर्ष । मेरो टाउको दुखाइ बजेटमा होइन, खेलकुद कार्यक्रमको स्वरूपमा हो । 

केही करोड खेलको विकासमा खर्चंदै बाँकी विकास निर्माण र रोजगारी सिर्जनामा खर्च गर्ने हो र मापदण्ड बनाएर बेरोजगारलाई ऋण दिने हो भने कति युवा बिदेसिनबाट रोकिन्थे होलान् ? खेल खेलाउन दुई/चारवटा खेलवाला संघ संस्थालाई दुई/चार लाख बाँडेर जनतालाई गाउँ–गाउँमा फुटबल, भलिबलको रमिता हेराउँदा खेल्नेबाहेकलाई के फाइदा हुन्छ ? समय खेर फाल्नेबाहेक छ कुनै उपलब्धि ? कि यो भन्दा उपलब्धिमूलक काम गर्न सकिने अरू क्षेत्र नै छैनन् ? अहिलेको आवश्यकता रोजगारी हो कि बेरोजगारलाई थप बेकारी बनाउन करोडौं बजेट सक्न गरिने खेलका रमिता ? खेलको रमिता हेराएर कुनै मुलुक समृद्ध भएका उदाहरण छन् ? खासमा खेल समृद्ध मानिसले रमिता हेरेर मनोरञ्जन लिने माध्यम हो । हामीले काममै मनोरञ्जन लिन सक्नुप¥यो । मनोरञ्जन लिँदै काम गर्ने बानीको विकास गर्ने हो भने रमाइलो गर्न खेल चौरतिर कुद्नै पर्दैन । पर्यटन वर्ष मनाइरहँदा राज्यले यो वर्ष कतिजनालाई पर्यटन व्यवहारको तालिम दियो ? कति युवाले रोजगारी पाउने ग्यारेन्टी गरियो ? सरकारले दिएको ऋण वा अनुदानको सहारामा कति जनाले व्यवसाय थाले भन्ने कुराको नतिजा देख्न पनि नपाइने मुलुकको राज्यले आर्थिक समृद्धिको नारा लगाउनुको के अर्थ ?

टीभीमा हेरेर प्रत्यक्ष देख्दै नदेखेको, चिन्दा पनि नचिनेको सात समुद्रपारिको मेस्सी, रोनाल्डो, वाटसन, मालिंगा आदि के–के नामधारी खेलाडीको पक्ष विपक्षमा कुर्लने हामी कस्ता मूर्ख ? कुरा गर्छौं समृद्धिको तर काम गर्छौं ब्यर्थको, धत्तेरिका !

समृद्ध नेपाल बनाउनका लागि अहिलेको आवश्यकता भनेको जनतालाई अझ त्यसमा पनि युवाहरूलाई वर्किङ कल्चर सिकाउने हो । देशमा सिन्को नभाँच्ने, विदेशमा गएर जस्तोसुकै काम गर्न तयार हुने युवालाई यहीँ काम गर्ने सोच र आनीबानीको विकास गराउनु अहिलेको आवश्यकता र चुनौती हो । तर वर्किङ कल्चर होइन, गेमिङ कल्चर सिकाइँदै छ यहाँ । नतिजा जेसुकै आओस् स्मार्ट देखिने काम गर्नुछ हाम्लाई । खेलाडी र अभिनेताहरू सेलिब्रेटी कहलिन्छन् यहाँ तर किसान सेलिब्रेटी बन्दैनन् । नयाँ काम गर्ने सोच र योजना पनि नबन्ने त होइन, सुरुआतचाहिँ गर्नै नसक्ने रोगले सताएको त छँदै छ, त्यसमाथि त्यस्तो वा उस्तो काम गर्दा समाजले वा दुनियाँले के भन्ला भन्ने पीरले थला पारेको छ हामीलाई । जुन दिन कुनै काम सानो–ठूलो हुन्न, फलानोले त्यो काम गर्दा हुन्छ भने मैले पनि त गर्दा हुन्छ भन्ने सोचलाई हामी व्यवहारमा उतार्न थाल्छौं, त्यो दिनदेखि समृद्धिको यात्रा सरकारी नाराबाट होइन, जनताबाटै शुरु हुन थालिहाल्छ । अनि मुलुक समृद्ध बन्न बेर नै लाग्दैन । 

एउटा बालक जब राम्रोसँग बोल्न सक्ने हुन्छ, तब उसलाई भविष्यमा के बन्ने भनेर सोधियो भने उसले केही न केही जवाफ दिन सक्छ जुन कुरा उसको मानसपटलमा सपनाको रूपमा सजिएको हुन्छ । कसैले डाक्टर बन्ने योजना सुनाउला, कसैले इञ्जिनियर, वैज्ञानिक, टिचर, आर्मी, पुलिस, पाइलट वा केही । तर, त्यही बच्चा जब १०–१२ वर्ष वा १२–१४ वर्षको हुन्छ तब त्यही प्रश्न सोधियो भने अल्मलिन थाल्छ । १८–२० कटेपछि त उत्तर दिन पनि मुस्किल पर्छ । पढाइ सकिसक्दासम्म के गर्ने, के नगर्ने भन्ने अन्योल हुन्छ । यद्यपि, यो नेपालीको मात्र समस्याचाहिँ होइन । एउटा विश्वव्यापी अध्ययनले के देखाएको छ भने ८० प्रतिशत मानिसमा भविष्यबारे ठोस सपना वा योजना नै हुन्न । १० प्रतिशत मानिसमा भविष्यको सपना त हुन्छ तर त्यो पूरा गर्ने कामको योजना हुन्न । ५ प्रतिशतजति मानिसमा भविष्यको सपना हुन्छ र त्यो पूरा गर्न अपनाउने ठोस योजना पनि । त्यसैले ती मानिस सफल र विश्वप्रख्यात छन्, जो सपना र योजनाअनुसार अगाडि बढ्छन् । हामी न सपना देख्छौँ न त्यसलाई साकार पार्न केही गर्छौं तर दोषचाहिँ भाग्यलाई दिन्छौं । मिले जागिर खाने, त्यसो नभए कुनै व्यापार गर्ने र त्यो पनि नभए विदेश जाने हाम्रो योजना यस्तै ढुलमुले प्रकारको हुन्छ । त्यसैले दार्शनिक भन्छन् भविष्यमा सफल हुने सपना देख्नु छ भने बच्चाबाट सिक्नुपर्छ । म आफैं जान्नेछु, पढेको छु, मलाई सबै थाहा छ भनेर अरूबाट सिक्नै नखोज्ने र असफलताको दोषचाहिँ अरूलाई थोपर्ने पाखण्डीपूर्ण व्यवहार गर्ने हामी कसरी सफल व्यक्तिको सूचीमा पर्छौं त ?

मानिस शोषण र अन्याय अत्याचारको शिकार भएर मात्रै गरिब हुँदैनन्, खर्च गर्न नजान्नु मानिस गरिब हुने मुख्य कारण हो । अहिले पनि मेरो निश्कर्ष त्यही हो । हामी आम्दानी नभएर होइन, खर्च गर्न नजानेर गरिब भएका छौं । हामी आवश्यकता होइन, सस्तो अफर खोज्छौँ, कर्मबाट हुने कमाइमा होइन, रातारात धनीमानी हुने चिठ्ठा रोज्छौं । आफ्नो काममा भन्दा फेसबुक, क्याण्डीक्रस, कलब्रेक अनि घण्टौंको बकम्फुसे चिया गफमा रमाउँछौं । अरूको कुरा काटेर उडाउनुमा मजा ठान्छाँै । उद्यम र कर्तव्यमा होइन, पाङ्दुरे गफमा मज्जा अनुभूति गर्छांै ।

हामी आफैं आत्मनिर्भर छैनौं । सरकारले यसो गरेन, उसो गरेन भनेर गुनासो गर्दैमा ठिक्क छ । राज्यप्रणाली नालायक छ, अझ भनौँ सरकार छ भनेर अनुभूति गर्ने सीमित क्षेत्र मात्र छन् । हामी आफैंले बदल्न सक्ने धेरै कुरा हुन सक्छन् । 

म धनकुटाबाट तराईतिर झर्नेबित्तिकै करिब १५–१६ वर्ष अगाडिको कुरा याद आइरहन्छ । म जहाँ बस्थेँ, ठीक पारिपट्टी एउटा मुसहर बस्ती थियो । घरमुलीको मुख्य पेशा माटो काट्ने अर्थात् खेतबारीका गरा मिलाउने हुन्थ्यो । उनीहरू खेतका फोक्टा या सुर्का हेरेर सम्याउने ठेक्का लिन्थे । त्यसबेला गरा मिलाउनका लागि डोजरहरू त्यति प्रचलनमा आई नसकेकाले सामान्यतया करिब आधा एक कठ्ठा खेत सम्याएबापत बीस तीस हजारदेखि चालिस पचास हजारसम्ममा ठेक्का लिन्थे । त्यो काम तीन चार दिनदेखि बढीमा एक हप्तासम्ममा सक्थ्यो टोलीले । चार पाँच भाइ मुसहरले यसरी एक हप्ताभित्र सरदर तीस चालिस हजार कमाउँथे माटो काटेर । गरिबको पक्षमा वकालत गर्ने कम्युनिस्टका हिमायती हामी त्यसैले ती मुसहरप्रति हाम्रो बढी नै सहानुभूति हुने नै भो । तर, हप्तामा एक जनाले आठ दश हजार कमाउने त्यो परिवारको घर सण्टीले बारेको बाख्राको खोरजस्तै झुप्रे थियो । तिनको घरमा न गतिला ओढ्ने–ओछ्याउने थिए न टिनको छानो । फुसको छानो भएका झुप्रे घरमा बिहान–बेलुकी छाक टार्ने अन्नपातको जोहो कहिल्यै हुँदैनथ्यो न त छोराछोरीको आङमा अलि राम्रो लुगा हुन्थ्यो । परिवार अलि ठूलै हुने त्यो परिवारको कमाइ हेर्दा एउटा अधिकृतको भन्दा कम थिएन तर कमाइ बेलुकीको जाँडपानी र मासुमै जान्थ्यो । त्यो हेरेपछि मेरो एउटा निश्कर्ष थियो, मानिस शोषण र अन्याय अत्याचारको शिकार भएर मात्रै गरिब हुँदैनन्, खर्च गर्न नजान्नु मानिस गरिब हुने मुख्य कारण हो । अहिले पनि मेरो निश्कर्ष त्यही हो । हामी आम्दानी नभएर होइन, खर्च गर्न नजानेर गरिब भएका छौं । हामी आवश्यकता होइन, सस्तो अफर खोज्छौँ, कर्मबाट हुने कमाइमा होइन, रातारात धनीमानी हुने चिठ्ठा रोज्छौं । आफ्नो काममा भन्दा फेसबुक, क्याण्डीक्रस, कलब्रेक अनि घण्टौंको बकम्फुसे चिया गफमा रमाउँछौं । अरूको कुरा काटेर उडाउनुमा मजा ठान्छाँै । उद्यम र कर्तव्यमा होइन, पाङ्दुरे गफमा मज्जा अनुभूति गर्छांै । कामकुरो छाडेर नतिजाको हिसाबकिताब नै नगरी नेताको पछि दगुर्नुमा पौरख ठान्छौँ । कमाएको मान्छे त देख्नै हुन्न, फलानोले यस्तो गरेर कमायो, उस्तो गरेर कमायो भन्दै चिना हेर्न भ्याइहाल्छौँ । आफू केही फलदायी काम गर्न नसकेर असफल भएपछि भनिदिन्छौँ, उफ के गर्नु भाग्यले ठग्यो, के गर्नु आफ्नो त भाग्य नै उस्तो !     – जनआस्था साप्ताहिकबाट