बेलवारी आइडल २ को पहिलो चरणका अडिसन सम्पन्न, प्रि-सेमिफाइनलका लागि ६१ जना छनौट

  • १९ माघ २०७६, आईतवार

सुर सप्तक बेलवारी आइडल २ को छनौट चरणको अडिसनबाट ६१ जना प्रतियोगीहरु प्रि-सेमिफाइनलमा प्रवेश गरेका छन् ।

बेलवारी आइडल २ को माघ १७ र १८ गते भएको छनौट चरणमा सहभागी दुई सयभन्दा बढीबाट ६१ जना प्रि-सेमिफाइनलमा प्रवेश गरेका हुन । पहिलो दिनको अडिसन  बेलवारी–७ स्थित प्रगति बोर्डिङ स्कुल र रणवीर बोर्डिङ स्कुलमा भएको थियो । दोस्रो दिन शनिवार बेलवारी–११ स्थित लक्ष्मी मा.वि र बेलबारी ३ स्थित मदनमोहन सांस्कृतिक भवनमा अडिसन गरिएको थियो ।

दुई सय भन्दा बढी सहभागी भएकोमा पहिलो चरणमा ६१ जना छनोट भएको स्रष्टा समाजका सचिव तथा कार्यक्रम संयोजक जे.वि थुलुङले जानकारी दिए ।  छनोट चरणमा संगितकार भीम बस्नेत, शेखर थापा मगर, गोपाल श्रेष्ठ र टेकराज मगर निर्णायक रहेका थिए । बेलबारी आइडल २ को प्रि-सेमिफाइनल माघ २५ गते आरोहण सङ्गीत विद्यालय बेलवारीमा हुने आयोजक श्रष्टा समाजले जनाएको छ ।

बेलबारी आइडल विजेताले ३० हजार नगद पुरस्कार, ३० हजार बराबरको म्युजिक भिडियोसहितको गीत रेकर्डिङको अबसर,  ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । सह विजेताले नगद पुरस्कार रु.१५ हजार, ट्रफी, प्रमाणपत्र र उप विजेताले १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

बेलबारी नगरपालिको आर्थिक सहयोगमा हुने बेलबारी आइडलको हस्पिटालिटी पार्टनर ड्रिम ल्यान्ड रहेको छ । फाइन प्रतियोगिता भने भने चैत १ गते हुने छ ।