वडा कार्यालयमा सेवाग्राहीबाट मनपरी पैसा असुल्दैै बिचौलिया, जनप्रतिनिधिहरुको बेवास्ता

  • १३ आश्विन २०७५, शनिबार

नगरपालिकाले जनप्रतिनिधिको हेल्प डेक्स नै राखेर सेवा दिने नीति लिइरहेको बेला बेलबारीको एउटा वडा कार्यालयमा भने बिचौलियाहरुले सेवाग्राहीबाट मनपरी ढंगले पैसा असुल्ने गरेको पाइएको छ ।
बेलबारी नगरपालिकाको २ नम्बर वडा कार्यालय लालभित्तिमा नागरिकता लगायतको सिफारिस फारम भर्दा जनप्रतिनिधिको संरक्षणमा वडा कार्यालय परिसरमा बसेका बिचौलियाहरुले सेवाग्राहीहरुबाट चर्को शुल्क असुल्ने गरेको पाइएको हो । हाल वडा कार्यालय परिसरमा वडाध्यक्ष निकट एक कार्यकर्ताकी श्रीमति र  तीर्थ गिरी नामको ब्यक्तिले सेवाग्राहीलाई प्रभावमा पारेर नागरिकता सिफारिस, ब्यक्तिगत घटना लगायत बिभिन्न फारम भरेको पैसा लिइरहेका छन् ।

उनीहरू त्यहाँ वडा कार्यालय स्थापना भएको केही समयपछिदेखि नै कार्यालय समयमा आएर त्यहाँ बस्न थालेका थिए । त्यहाँ सेवाग्राहीबाट खुलेआम आफुखुशी पैसा असुलिए पनि वडाध्यक्ष घनश्याम गौतम लगायतका जनप्रतिनिधि मुकदर्शक भएर बसेका छन् ।
त्यतिमात्र होईन, वडा कार्यालयले ती बिचौलियाले सेवाग्राहीबाट लिने शुल्क समेत तोकेको छैन । शुल्क नतोकिएपछि उनीहरूले विभिन्न फारम भरेको एक सय रुपैयाँदेखि दुई तीन सय रुपैयाँ लिने गरेको एक सेवाग्राहीले बताए ।
नगरपालिकाले जनप्रतिनिधिबाट निशुल्क हेल्पडेक्स संचालन गर्ने निति लिएर केही वडामा कार्यान्वयन समेत भइरहेको बेला २ नम्बर वडा कार्यालय परिसरमै बिचौलियाले सेवाग्राहीबाट पैसा असुल्ने गरेको सम्बन्धमा बेलबारी नगरपालिकाकी कार्यपालिका सदस्य समेत रहेकी वडा सदस्य खिना थापाले आफुहरुले पुरा समय दिएर हेल्पडेक्स चलाउन नभ्याउने प्रतिक्रिया दिइन् । उनले दुई जना बेरोजगारले रोजगारी समेत पाइरहेकोले आफुहरुको निगरानीमा काम गर्न दिइएको बताइन् ।
बेलबारी नगरपालिकाको वडा नम्बर ६, ९ लगायत केही वडा कार्यालयहरुमा जनप्रतिनिधिले हेल्प डेक्स नै राखेर पुर्णकालीन सेवा दिइरहेका छन् ।