‘बेलबारी आइडल २’ को फाइनलका लागि उत्कृष्ट १० प्रतिस्पर्धीहरु छनौट

  • ३ फाल्गुन २०७६, शनिबार

‘सुर सप्तक बेलबारी आइडल २’ को फाइनलका लागि टप टेन प्रतिष्पर्धीहरु छनौट भएका छन् ।

बेलबारी १ स्थित तमु वुद्धिष्ट गुम्बामा शनिबार भएको सेमीफाइनल चरणको प्रतिष्पर्धाबाट उत्कृष्ट १० फाइलनलिष्ट छनौट भएका हुन् । आइडलको सेमीफाइलनमा २१ जनाले प्रतिष्पर्धा गरेका थिए ।

उत्कृष्ट १० मा छनौट हुनेहरुमा रितेस तिम्सिना, रविसन खत्री, नवीन कोइराला, सर्मीला दाहाल, सुनिल चौधरी, डम्बर सुन्दास, रालोन राई, विनुका बास्तोला, मुस्कान सुनार र सुवास राइ छन् ।

त्यसैगरी प्रतियोगिताको फाइनलका लागि विवस खड्का, साहिल घिमिरे र प्रभा खतिवडालाई बैकल्पिक प्रतिस्पर्धीका रूपमा छनौट गरिएको छ । उत्कृष्ट १० भित्रका कोही प्रतिष्पर्धी अनुपस्थित भएमा वैकल्पिकले मौका पाउने बेलबारी आइडल २ का संयोजक तथा आयोजक श्रष्टा समाजका सचिव जेवी थुलङले बताए  ।  उत्कृष्ट १० मध्येबाट बेलबारी आइडल २ का विजेता, सह बिजेता र उप बिजेताको छनौट हुनेछ ।

माघ १७ गते अडिसनसहित सुरु भएको आइडल २ को छनौट चरणमा  दुई सयभन्दा बढी सहभागी भएका थिए । ती मध्ये ६१ जना छनौट चरण पार गर्दै प्रि-सेमीफाइनलमा पुगेका थिए । त्यसबाट छानिएका २१ जना सेमिफाइनलमा र त्यसबाट पनि  उत्कृष्ट १० जना फाइनलका लागि छानिएका छन् । फाइनलमा प्रवेश गरेेेका प्रतियोगीहरूलाई १ महिनाको पूर्ण प्रशिक्षण प्रदान गरिने पनि कार्यक्रम संयोजक जे.वि थुलुङले बताए ।

बेलबारी आइडल विजेताले ३० हजार नगद पुरस्कार, ३० हजार बराबरको म्युजिक भिडियोसहितको गीत रेकर्डिङको अबसर,  ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । सह विजेताले नगद पुरस्कार रु.१५ हजार, ट्रफी, प्रमाणपत्र र उप विजेताले १० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

बेलबारी नगरपालिकाको आर्थिक सहयोगमा भएको बेलबारी आइडलको फाइनल प्रतियोगिता चैत १ गते हुनेछ ।