बर्षातको पानी जमिनमुनि छिर्न पाउँदैन अनि कसरी जोगिन्छ पानीको मुहान ?
ठाकुरप्रसाद बराल
- १ श्रावण २०८१, मंगलवार
कंक्रिटले ढाकेको भूभागमा बर्षातको पानी भित्र छिर्नै पाउँदैन । बर्षातको पानी सडकको किनारामा बनाएको पानीको ढलबाट सीधै खोलामा मिसिन्छ भने घरको छतमा बर्षिएको पानी पनि ढल मार्फत खोलामै पुग्छ । बजारको बीचबाट बग्ने पानीले बटुवालाई हिड्नै नसक्ने पारिदिन्छ ।
बर्षातको पानी जमिनमुनि छिर्न नपाएपनि जमिन मुनिको पानी दोहन गर्ने क्रम भने बढ्दो छ । खोलानालामा पानी भन्दा पोलिथिन पाइप विछ्याउने क्रम बढ्दो छ । लेकाली खेतहरु बाझै रहनाले बर्षाको पानी जमेर जमीन मुनि गयि पानी रिचार्ज नभएर धनकुटाका कुवाहरु सुक्नाले खानेपानी अभाव हुन थालेको छ । अनधिकृत रुपमा डिप बोरिङ गर्ने लहड र त्यसबाट सूद प्राप्तिका कारण धनकुटामा पानी पानी भनिरहनुपर्ने समस्याको निदान हुन सकेको छैन ।
जमिनमुनि पानी छिर्न नदिने तर जमिनमुनिको पानी निरन्तर तानिरहने समस्या धनकुटाको मात्र होइन, देशको सबैजसो सहरी इलाकाले यस्तै नियति भोगिरहेको छ । जमिन मुनि पानी छिर्न नपाउँदा भूमिगत पानीको सतह घट्दै गएको विभिन्न अध्ययनले पुष्टि गरिसकेको छ । जमिनमुनिको पानी तानेर उपभोग गर्ने मात्रै नभई जमिन मुनि पानी पठाउने वा सोस्न दिने काम ‘भूमिगत पानी रिचार्ज’ हो ।
जमिनमा पानी रिचार्ज गर्न ठूलो खर्च पनि लाग्दैन, न त महँगो प्रविधि नै आवश्यक पर्छ । आकाशबाट बर्षिएको र घरमा उपभोग भएर बाहिरिने पानीलाई ढलमा मिसाउनुको सट्टा छुट्टै ट्यांकीमा जम्मा गर्नुपर्छ । त्यस्तो ट्यांकी नजिकै अर्को इनार बनाउनुपर्छ, जुन सतहबाट २० देखि ४० फिटसम्म गहिरो हुन्छ । इनारको तल्लो भागमा ठूलो आकारका गिटी, त्यसभन्दा माथि मसिना गिटी र त्यसभन्दा माथि तीन फिटसम्म खस्रो बालुवा राख्नुपर्छ । सबैभन्दा माथि जियो टेक्स्टाइल राख्नुपर्छ । त्यसमार्फत वार्षिक हजारौ लिटर पानी धनकुटाको धरातलमा रिचार्ज गर्न सकिन्छ ।
जमीनमा पानी रिचार्ज हुनुपर्छ भन्ने सोच अहिलेको नभई हाम्रा पूर्खाले बर्षौदेखि प्रयोग गर्दै आएका थिए । पूर्खाहरुले उनीहरुका पालामा बनाएका आहालमा मोडलहरू त्यसका प्रत्यक्ष साक्षी हुन् ।
धनकुटाको सल्लेरीमा रहेको छाउनी आहाल, आत्मारामा रहेको गोदे आहाल, हाडी खर्कको सिरानमा रहेको विशाल आहाल, सल्लेरीको बीचमा रहेको करकले माथि र तल रहेका आहालहरु, आहारहरु, सुके र कागती पारखीहरु परम्परागत जमिन मुनी पानी रिचार्ज गर्ने पद्दतिलाई अहिले स्थानीय सिंहदरवारबाट वेवास्ता गरिएको छ ।
जमिनमुनि पानीको सतह घट्दै गएपछि धनकुटामा जमिनमुनिको पानी पुनर्भरण गर्ने अभियान चलाउनु पर्ने भएको छ तर विरालोको घाँटीमा घण्टी कसले बाध्ने ?
‘हामीले वर्षौंदेखि जमिनको पानी तानेर तिर्खा मेटाएका छौँ । तर, जमिनमा कहाँबाट पानी आउँछ भन्ने कहिल्यै सोचेनौँ । धनकुटेहरु काकाकुल झै पानी खोज्दै कहिले निभूवा त कहिले वसन्तपुरमा खोला चाहारिरहेका छन् । ‘रित्तिँदै गएको जमिनमा पानी भर्न यो अभियान थालिएको छैन ।’ पुनर्भरण अभियान अन्तर्गत आकासे पानी संकलन गरी जमिनमुनि पठाउन कृत्रिम विधि अपनाउनु पर्छ। ‘जमिनमुनिको पानी निकाल्न त्यहाँ पनि पुनर्भरण आवश्यक हुन्छ । जमिनमा पानीको पुनर्भरण गरिएन भने धनकुटाका पानीका मुहान झन् सुक्छन् ।
जमिनमुनिको पानी निरन्तर उपभोग गर्ने तर आकासे पानी समेत जमिनले सोस्न नपाई बगेर खोलामा जाने प्रथामा सुधार ल्याउन स्थानीय निकाय जाग्नु पर्दछ र पुराना आहाल तथा पोखरीमा वर्खाको पानी सिञ्चित गरी जमीनलाई पुनर्भरण व्यवस्थाको थालनी गर्न ढिलो भइसकेको छ ।



