आस्था राउतसँगै बेलबारीमा नाच्नुसम्म नाचे दर्शकहरु, चौथो दिन को को आउँछन् थाहा छ ?

  • २० फाल्गुन २०७६, मंगलवार

बेलबारीमा चलिरहेको आदिवासी जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सव–२०७६ को चौथो दिन (मंंगलबार) गायिका सुनिता थेगिम लिम्बु  र साजन राई लगायतका कलाकार आउने भएका छन् ।

साजन ‘छिटको साडी चौबन्दी चोलीमा’, ‘नेपाली नेपाली हामी नेपाली’, ‘चाँप फुल्यो’  लगायतका चर्चित गीतका गायक हुन् भने  सुनिताका ‘माथि है पार्‍यो, ‘जन्तरी’, ‘कान्छा राम्रो’, ‘सोल्टिनी’ जस्ता गीतहरू चर्चित छन् । महोत्सवमा स्थानीय कलाकारहरूको सांस्कृतिक नृत्य पनि प्रस्तुत हुने आयोजकले जनाएको छ ।

महोत्सवको तेस्रो दिन सोमबार पहिले बेलबारीको स्थानीय ब्याण्ड टिकाहाङ एन्ड द्रव्यको प्रस्तुति रहेको थियोे । सो ब्याण्डका कलाकारले ‘हो राम राम’ लगायतका केही पप गीतहरू गाएका थिए । त्यसपछि  गायिका आस्था राउतले दर्शक हरुलाई भरपूर मनोरञ्जन दिएकी छिन् । भरिभराउ दर्शक उपस्थित भएको  महोत्सव स्थलमा आस्थाको जोशिलो प्रस्तुतिले युवा युवती मात्र होइन, सबै मानिसहरू नाच्दै र गाउँदै रमाएका थिए ।

करिब एक घण्टासम्मको आस्थाको नृत्य सहितको प्रस्तुतिले बेलबारी तताएको थियो । आस्थाले ‘मलाई नेपाली होइन भन्न कहाँ पाइन्छ’, ‘खै त मलाई झम्के बुलाकी’, ‘माया यो माया’ लगायतका आधा दर्जनभन्दा बढी गीतहरू गाएकी थिइन् । फागुन १७ देेखि शुरु भएको महोत्सव फागुन २४ गते सम्म चल्नेछ ।

यो पनि पढ्नोस –

बेलबारीमा जारी आदिवासी जनजाति महोत्सव, जहाँ छन् डेढ दर्जन साँस्कृतिक स्टल