कोरोना भाइरसको महामारी र नेपालमा अपनाउनुपर्ने सतर्कता

भरत शिवाकोटी

  • २१ चैत्र २०७६, शुक्रबार

चिनबाट शुरु भएको कोरोना भाइरसले विश्वभर बिस्तारै महामारिको रुप धारण गर्दै गैरहेको छ । कोरोनाबाट दिनहुँ संक्रमण हुने संख्या तिब्र रुपमा वृद्दी भइरहेको छ । चालीस पचास हजार मानिसको मृत्यु भैसक्दा यसबाट विश्व समुदाय चिन्तित बनेको छ ।

 हाम्रो देश नेपालमा समेत कोरोना भाइरस संक्रमीत फेला परिसकेको र संक्रमणको आशंका गरिएका व्यक्तिहरु बढदो क्रममा रहेको सर्वविदितै छ । यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विगत एक हप्तादेखि मुलुक लकडाउनमा छ । महामारी नियन्त्रणमा लिन अन्य विभिन्न उपायहरु अवलम्बन गरिएको छ जुन सराहनिय छ भन्दा अत्युक्ति नहोला ।

वर्तमान लकडाउनको समयमा सुरक्षालाई काबु बाहिर जान नदिन कतिपय ठाउँमा सुरक्षाकर्मीद्वरा अभद्र व्यवहारसँगै बढी बल प्रयोग गरेको समाचारहरु समेत बाहिरिएको अवस्थामा त्यसलाई सुधार्दै सुरक्षा सतर्कता बढाउन जरुरी देखिन्छ । तर लकडाउनको अवधिमा पनि कतिपय जनमानास यसलाइ वेवास्ता गरिरहेका छन भने कतिपय आफू सतर्क रहे केही नहुने भ्रममा छन् । तर कोरोना संक्रमित  एक व्यक्ती कुनै व्यक्ति वा परिवारसँग रहेमा वा सम्पर्क भएमा त्यो व्यक्ति र सिङ्गो परिवार संक्रमित हुनेछ्न् ,अनि त्यो व्यक्ति वा परिवारका सदस्य अरु जति ब्यक्ति सँग घुलमिल हुन्छ्न््, त्यति नै व्यक्ति कोरोना भाइरसबाट संक्रमित हुन्छ्न र यहि क्रमले यसले भयावह रुप लिन्छ भन्ने कटु सत्यलाई नजरन्दाज गरेको यत्रतत्र देख्न सकिन्छ ।

संक्रमित व्यक्तिले प्रयोग गरेका वस्तुहरु जस्तो कपडा, पैसा, तास जस्ता अन्य सामाग्री मार्फत र कोरोना संक्रमित व्यक्ति समिपमा भए पनि सजिलैसँग कोरोना भाइरस सर्न सक्छ भन्ने तितो यथार्थलाई समेत पटक्कै ख्याल गरेको पाइदैन । अन्य सुरक्षा सतर्कताका न्युनतम कामहरुमा समेत बेवास्ता गरेको पाइन्छ । यी यावत सुरक्षाका कवजहरुलाई अवलम्बन गराउन सुचनामुलक जानकारी आवश्यक छ ।

जसलाई जानकारी नै छैन, उसलाई त सुचना अथवा जानकारीको खाँचो रहयो तर जसलाई सबै जानकारी छ, त्यस्ता बुझ्ने व्यक्तिले नबुझ्ने व्यक्तिलाई बुझाउनु ठुलो ओखती हो, सरकारलाई सहयोग हो र आफु सुरक्षित रहने प्रतिशत बढाउनु हो । तर उनै बुझ्नेहरूले नै नबुझ्ने जस्तो गरी वेवास्ता गर्नु चाहिँ बिडम्बना नै मान्नुपर्छ । समस्यालाई सामान्य ठानेर हिजोको जस्तै गरि हिँडडुल गरिदैछ र सरकारद्वारा जारी गरिएको लकडाउनलाई चुनौती दिने काम भैरहेको छ । यसको परिणामा कति घातक हुनसक्छ भन्ने उदाहरण खोज्न धेरै टाढा जान पर्दैन ।

आज भन्दा केही हप्ता पहिले मात्र इटाली लगायतका देशमा कोरोना संक्रमितको आँकडा आजको नेपालको जस्तै थियो । सरकारले हरेक ठाँउमा लकडाउन गरेको थियो, मानिसहरुलाई अति आवश्यक काम नपरी बाहिर जान निषेध गरेको थियो, साबुनपानीले पटक-पटक हात धुन, मास्कको प्रयोग गर्न भनेको थियो, भेला, भिड नहुन नगर्न भनेको थियो ।
तर अहिले हामीले कोरोना भाइरसलाई जस्तो सामान्य सोचेका छौँ, उनिहरुले पनि त्यस्तै सामान्य सोचेर सरकारको आग्रहलाई लत्याइदिए । बिना काममा बाहिर निस्कन र हिँडन छोडेनन, भेला हुन अनावश्यक भिड गर्न छोडेनन । परिणाम स्वरूप आज इटालीको हालत नियन्त्रण गर्न हम्मे हम्मे परेको छ । हरेक दिन सयौंको संख्यामा मनिसहरुले ज्यान गुमाइरहेका

छन् । त्यहाँ कोरोनाको कारण कारण मर्नेको संख्या कोरोना भाइरसको उत्पति भएको छिमेकी रास्ट्र चिनको भन्दा उच्च रहेको छ । जब यो भाइरसका कारण कसैको मृत्यु हुन्छ तत्पश्चात अरु व्यक्तिमा भाइरस सर्ने खतराका कारण कसैलाई भेटन दिईदैन, लाश लैजान, सदगत गर्न पाइदैन । यस्तो डरलाग्दो दृस्टान्त हाम्रो अगाडी हुँदाहुँदै हामी त्यसलाई समेत बेवास्ता गर्दैछौं भने कतै हामी त्यस्तै चपेटामा त पर्दैनौ यसै भन्न सकिने अवस्था छैन ।

आशा गरौं, हामीलाई प्राकृतिक सँगै मौसम र अन्य साथ समेत रहनेछ र इटालीको जस्तो भयावह स्थिति आउने छैन तर यसका निमित्त हामीले पालना गर्नुपर्ने न्युनतम सतर्कता चाहिँ पालना गर्नैपर्छ अन्यथा उपरवालाको मर्जी भनेर छोडे बुद्दिको बिर्को लगाएर जानाजान गरेको सतर्कता उल्लंघनको परिणाम स्वीकार्न तयार हुनुको विकल्प हुनेछैन । निकट भविश्यमा हाम्रो असावधानीका कारण नेपालमा इटालीको जस्तै भयावह स्थिती आइपरे आज इटालीका जनताले जसरी पछुताउने समय पाएका छैनन् । त्यसैगरी हामीसँग नि पछुताउने समय नहुन सक्छ । अब पनि आवश्यकता बिना नै घरबाहिर निस्केर हिँडने,भेला हुने,तास,जुवा,क्यारेम्बोर्ड आदि खेल्ने अथवा न्युनतम आफुले सक्ने सुरक्षा सतर्कतालाई पटक्कै ख्याल नगरे हामीलाई यसको मूल्य चर्को पर्न सक्छ ।

अहिले ज्यालामजदुरी गरेर छाक टार्ने समुदायको चुलो बाल्न सरकार तथा विभिन्न संघ संस्थाले सहयोग गर्न देखाएको तदारुपता प्रशंग्सा योग्य देखिए पनि त्यसको वितरण तरिकामा भने अत्यत्नै जोखिम देखिएको छ । फोटो खिच्नका निमित्त न्युनतम दुरि एवं सुरक्षा सतर्कता अवलम्बन गर्नेतर्फ जानाजान बेवास्ता गर्दै हाताहाती भिड कायम गरेर वितरित राहतले कालान्तरमा न त राहत पाउने सुरक्षित रहने देखिन्छ न त राहत दिने नै सुरक्षित रहने देखिन्छ । सुरक्षित रहन सक्ने उपाय हुँदाहुँदै आफुले आँफैलाई उच्च जोखिमको दाउमा राखेर गरिने राहत बितरणलाई गहन गरि हेर्ने हो भने गर्व गर्ने ठाउँ देखिदैन ।

विश्व समुदायमा यसको प्रभाव हेर्दा र हाम्रो देशको अवस्थालाई नियाल्दा अहिलेपनि हामी निक्कै खतरामा छौं । छिमेकी मुलुक भारत सँगको खुल्ला सिमाना हाम्रो देशको निमित्त सबैभन्दा ठूलो खतरा हो, जसलाई कडा निगरानी गर्नु आजको आवश्यकता हो । कतिपय कारणले भारत सँगको आवतजावत पुर्ण निषेध गर्न सकिन्न तर अहिले जुन अवस्थामा आवतजावत भैरहेको छ त्यसलाई भने पुर्ण नियन्त्रण गर्नैपर्छ अहिलेपनी रात्रीकालिन समयमा तल्लो सिमावर्ती नाकाबाट मानिसहरु अवैध रुपमा भित्रीरहेका छन र कतिपयलाई सुरक्षाकर्मीले नियन्त्रणमा समेत लिएका घटनाहरु दिनहुंँ बाहिरिरहेका छन् जो चिन्ताको विषय हो ।

हाम्रो देशको मौसम बदलिने समय पनि यहि नै हो र यसैकारण मानिसहरु सामान्य ज्वरो,रुघाखोकी आदिबाट बिरामी नि पर्ने गरेका छन । यसो हुँदैमा कोरोना संक्रमित भन्नु गलत हो र यस्ता बिरामीहरुलाई निजि अस्पतालहरुले उपचार नगर्नु, गेटबाट भित्रै जान नदिनु अर्को ठुलो अन्याय र स्वास्थ्य सेवाको मुला मर्म विपरितको कार्य हो । यसलाई सरकारी निकायले अनुगमन गर्दै बिरामी मानिसहरुको उपचारमा सहजताको प्रत्याभूती दिलाउन ढिला भैसकेको छ । त्यसैगरी जुनसुकै देशबाट अन्तरास्ट्रिय उडान मार्फत नेपाल भित्रिने मानिसहरु अर्को खतरा बन्न सक्छन, अन्तरास्ट्रिय उडानबाट नेपाल भित्रिने जो कोहीलाई २ देखि ३ हप्ताको क्वारेन्टाईनमा अनिवार्य राख्नु अति आवश्यक छ नै कोरोना नियन्त्रण पश्चात समेत निश्चित समय सम्म अन्तरास्ट्रिय उडानबाट नेपाल भित्रिने व्याक्तिहरुलाई क्वारेन्टाइनमा रहने अनिवार्य व्यवस्थाबारे अहिले नै सरकारले दिर्घकालीन योजना बनाउन जरुरी छ ।
हालसम्म कोरोना भाइरस (COVID19) पत्ता लागेको तीन महिनामा लगभग १० लाख मानिसहरु संक्रमीत भएका छ्न भने पचास  हजार भन्दा बढी व्यक्तिहरुको मृत्यु भैसकेको छ ।

तर इतिहास पल्टाएर हेर्ने हो भने यो नै भयावह र नौलो महामारी चाहिँ होइन । सन् ५४१ मा रोमबाट शुरु भएको प्लेग रोगले महामारीको रुप लिदा पाच करोड मानिसहरुले ज्यान गुमाएका थिए भने ८०६ बर्ष पछि पुनः प्लेग महामारी शुरु भएको चार वर्षमा नियन्त्रण गरिदा सम्ममा विश्वमा २० करोड मानिसको मृत्यु भएको थियो । सन् १५२० मा शुरु भएको बिफर महामारीले ५ करोड ६० लाख मानिसको मृत्यु भएको थियो जसको नियन्त्रण खोप १८ औं शताब्दीमा मात्र पत्ता लागेको थियो । सन् १९१८ मा स्पेनिस फ्लु महामारीको कारण विश्वमा ५ करोड मानिसको मृत्यु भएको थियो ।

अहिले हामी कोरोना भाइरस (COVID19) को सामना गरिरहेका छौं । यो शुरुवाती अवस्थामा छ र यसको औसधी पत्ता लागिसकेको छैन अनि कहिले नियन्त्रण हुन्छ यसै भन्न सकिने अवस्था पनि छैन ।
नेपाल सानो देश, हामीसँग कुनै प्रविधि छैन । नेपाल सरकारले कोरोना भाइरस (COVID19) बाट बच्न विभिन्न माध्यमबाट धेरै सुझाव र जानकारी दिइराखेको छ । हामीले त्यसलाई कती पालना गरेका छौं या छैनौ सबैले आत्मासाक्षी राखेर मम भन्ने बेला भएको छ । हरेक नागरिक सचेत होऔ र अरुलाई नि सचेत रहन सल्लाह दिऔं । जथाभावी बाहिर ननिस्कौ । बेला-बेलामा साबुनपानीले हात धोऔं र आफुले समातेका वस्तुहरुमा कोरोना भाइरसका किटाणु छैनन् भन्नेमा निश्चित होऔं । मास्कको प्रयोग गरौं । भिटामीन ‘सी’ युक्त खानेकुराहरु जस्तै टमाटर, खुर्सानी, सिम्ला, कागती, सुन्तला, किवी, काउली, ब्रोकाउली, इत्यादिको सेवन गरौं । यो सगै तातो पानी प्रशस्त पिउने गरौं,हाम्रो वरपर उपलब्ध हुने अदुवा, बेसार, तुलसाको पात, गुर्जो, लसुन, बोजो, पदिना, वन अमला, कालो मरिच आदि मात्रा मिलाएर खाने गरौं, घरमै बसौं र यो प्रकोपलाई काबुमा राख्न एवं फैलन नदिन सहयोग गरौं । आफू पनि सुरक्षीत रहौं र अरुलाई पनि सुरक्षित हुन सचेत गराऔं ।

अहिलेको हकमा तपाईं हाम्रो हातमा रहेको सुरक्षा कवजलाई चिन्न सकेर व्यवहारमा प्रयोग गरे प्लेग वा बिफर वा स्पेनिस फ्लु जस्तो कोरोना भाइरस (COVID19) भयावह नहोला भन्ने कामना गरौं तर आफ्नो कर्तव्य व्यवहारमा कार्यान्वयन नगरी गरिएको कामनाले भने कुनै अर्थ राख्ने छैन ।