कोरोना भाइरसको महामारी र व्यक्तिगत सुरक्षा सामग्री एवम् पीपिइको आवश्यकता

सुमन खड्का

  • १३ बैशाख २०७७, शनिबार

विश्व स्वास्थ्य संगठनले चीनको वुहान प्रान्तबाट पछिल्लो समयमा देखा परेको र हाल विश्वको करिव २०० भन्दा बढी राष्ट्रहरुमा महामारीको रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) लाई विश्वव्यापी महामारी घोषणा गरेसँगै हाल व्यक्तिगत सुरक्षा सामाग्री (PPE) को बारेमा मानिसलाई कौतुहलता जागिरहेको वर्तमान अवस्था सर्वविदितै छ ।

नेपालमा पनि उक्त कोरोना भाइरस (कोभिड १९) बाट हालसम्म संक्रमितको संख्या ४९ पुगेको (७ को उपचार पछि ठीक भईसकेको) अवस्थामा व्यक्तिगत सुरक्षा सामग्रीको आवश्यकतालाई पनि सचेतना गराउने काम गर्नुका साथै चिकित्साकर्मी तथा स्वास्थ्यकर्मीहरुका लागि प्राण कवचका रुपमा व्यक्तिगत सुरक्षा सामाग्री प्रस्तुत हुन पुगेको छ ।

व्यक्तिगत सुरक्षा सामाग्री (PPE) यस्तो सुरक्षण सामाग्री हो, जसले प्रयोगकर्तालाइ स्वास्थ्य क्षेत्रबाट हुने जोखिम वा कामबाट हुने जोखिमबाट बचाउंँछ । स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा सामग्री कोरोना शंकास्पद वा संक्रमितको उपचार गर्दा सबैभन्दा आवश्यक सामाग्री हो । यसको प्रयोग बिना काम गर्दा स्वास्थ्यकर्मी आफै संक्रमित हुन सक्ने र थप अरुलाई संक्रमण फैलाउन सक्ने सम्भावना रहन्छ ।

हुन त व्यक्तिगत सुरक्षा सामग्री संक्रमित बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीले मात्र लगाए पुग्ने हो । तर जुन अस्पतालमा फिबर क्लिनिक चलाइएको छ, त्यहाँका स्वास्थ्यकर्मीलाई पनि व्यक्तिगत सुरक्षा सामग्रीको व्यवस्था गरिनुपर्दछ । जस अन्तर्गत हेल्मेट, पञ्जा, चस्मा, प्रस्टसँग देखिने पोशाक वा लुगा, जुत्ता, डोरी, मास्क, गाउन इत्यादि पर्दछन् ।

व्यक्तिगत सुरक्षा सामाग्री (PPE) को मुख्य उद्धेश्य सम्वन्धित सरोकारवाला सबै पक्षहरुबाट हुने सबै प्रकारका जोखिमहरुको न्यूनीकरण र दूर्घटनाको रोकथाम तथा असरको न्यूनीकरण नै हो । यस्को प्रयोग आफ्नो पेशा अनुरुप फरक फरक पेशामा र कामको प्रकृति अनुरुप फरक फरक हुन्छ । जस्तै घर निर्माणमा खटिने कामदारहरुले हेल्मेट प्रयोग गर्दछन्, मोटरसाइकलमा सवार चालक तथा व्यक्तिहरुले हेल्मेट, चस्मा, बुट र पञ्जा प्रयोग गर्दछन् । यो पनि एक प्रकारको व्यक्तिगत सुरक्षा सामग्री नै हो ।

चिकित्साकर्मी तथा स्वास्थ्यकर्मीहरु पनि समय र आफ्नो कामको प्रकृति अनुसार फरक फरक किसिमका व्यक्तिगत सुरक्षा सामाग्री प्रयोग गर्ने गर्दछन् । हुन त सामान्य परिस्थितिमा कति चिकित्सक र स्वास्थ्यकर्मीहरु यो लगाउन लाज मान्छन् या आवस्यक ठान्दैनन् ।  धेरै चिकित्सकहरुले पनि बिरामीको चेक जाँच गर्दा एप्रोन लगाउने गरेको पनि पाइदैन । स्वास्थ्य क्षेत्रमा फरक फरक किसिम तथा तहको व्यक्तिगत सुरक्षा सामग्री प्रयोग भएको पाइन्छ । अन्य मुलुकहरूमा शल्यक्रिया तथा अप्रेसनको समयमा स्क्रब टि सर्ट, गाउन, पाइजामा, मास्क, टोपी, पञ्जा, जुत्ता अनिवार्य लगाइन्छ ।तर नेपालमा अधिकाशंले चप्पल लगाउने गरेको पाइन्छ ।

विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यक्तिगत सुरक्षा सामग्रीहरुमा निम्न प्रकारले विभिन्न तहमा सुरक्षा सामग्रीको वर्गीकरण गरेको पाइन्छ
१. प्रथम तह (Level One)
२. दोश्रो तह (Level Two)
३. तेश्रो तह (Level Three)
यस किसिमका वर्गीकरण विभिन्न निकायहरु, संस्थाहरु र अस्पतालहरुले आफ्नो क्षमता र कार्य सहजता अनुसार वर्गीकरण गरेका हुन्छन् ।
व्यक्तिगत सुरक्षा सामाग्रीलाई यसरी पनि प्रस्तुत गरिएको पाइन्छ ः
 Respirators : Gas Mask and Particulate Respirators.
 Skin Protection: Rubber Gloves, Chainsaw Gloves, Lab Coats, Face shields.
 Eye Protection : Goggles, Safety Glasses
 Hearing Protection: Earplugs, Earmuffs.
 Helmet, Driving Mask, Safety Boot, Pass Device, Shoe Covers, Head Covers, Ballistic Vest, Bulletproof Vest etc.
अन्त्यमा, सामान्य काम गर्दा धेरैले पञ्जा (ग्लोभ्स) मात्र लगाउने गर्दछन् तर बढी जोखिम रहित कामको लागि बिशेष ध्यान पु¥याई स्वास्थ्यकर्मीहरुमा हुन सक्ने हानी नोक्सानी, असर तथा जोखिम कम गर्न विशेष प्रकारको साबधानी अपनाइने गरिन्छ । बढी जोखिम हुने क्षेत्रमा बिशेष प्रकारको सुरक्षा कवच प्रयोग गरिन्छ । जस्को माग अत्यधिक रुपमा भएको पाइन्छ । तसर्थ तर नेपालको अहिलेको वर्तमान अवस्था हेर्दा विभिन्न निकाय तथा स्थानीय तहहरुले आवश्यकता भन्दा पनि चर्चामा आउनका लागि सार्वजनिक रुपमा पीपीइको प्रयोग गरी फोटो सेसन गर्ने गरेको पाइन्छ । अहिले चर्चामा आउने भन्दा पनि सम्भाव्य जोखिमलाई कम गर्ने समय भएकोले अति आवश्यकीय ठाउँ र आवश्यक पर्ने व्यक्तिले मात्र व्यक्तिगत सुरक्षा सामाग्री (PPE) प्रयोग गरौं आफु पनि सुरक्षित रहौं, अरुलाई पनि सुरक्षित राखौं ।

(लेखक चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान काठमाण्डौमा कार्यरत हुनुहुन्छ)