बेलबारीमा माछापालनका लागि ३० लाखको कार्यक्रम, माछापालक कृषकहरु लाभान्वित

  • २४ असार २०७७, बुधबार

भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मोरङ र कसेनी मत्स्य पकेट संचालक समितिको साझेदारीमा संचालित माछा पालन प्रबर्द्धन कार्यक्रमबाट बेलबारी नगरपालिका क्षेत्रका झण्डै ४ दर्जन माछापालक कृषकहरु लाभान्वित भएका छन् ।

केन्द्र तथा कसेनी मत्स्य पकेट संचालक समितिको साझेदारीमा संचालित ३० लाखको कार्यक्रमबाट बेलबारी ३, ४ र ५ का ४४ कृषकहरु लाभान्वित भएका हुन् ।

माछापालन प्रबर्द्धन कार्यक्रमका लागि भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मोरङबाट १५ लाख र कसेनी मत्स्य पकेट संचालक समितिबाट समेत १५ लाख गरी ३० लाख रुपैयाँको कार्यक्रम संचालन गरिएको थियो ।
आर्थिक बर्ष २०७६/०७७ मा बिनियोजित बजेटबाट गत चैतमा सम्झौता भएको थियो । त्यसलगत्तै २५ जना कृषकलाई माछा पकेट सम्बन्धि अभिमुखीकरण तालिम दिइएको थियोे ।
त्यसैगरी भुमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगतको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र मोरङबाट मत्स्य नर्सरी उत्पादन तथा ब्यबस्थापनका लागि प्राप्त हुने १५ लाख रुपैयाँ मध्येबाट कसेनी मत्स्य पकेट संचालक समितिबाट २ लाख र मधुमल्ला कृषि फर्म हाउस एण्ड रिसोर्ट प्रालिले २ लाख गरी ४ लाख रुपैयाँ बिनियोजन गरिएको छ । त्यस्तै कार्यक्रम मार्फत ८ वटा पुरानो पोखरीको मर्मत संभार पनि गरिएको छ । कार्यक्रम अन्तरगत ६ जना कृषकको पोखरीमा मटर सहितको बोरिङ जडान, १० वटा कमर्सियल पम्प र सेक्सन पाइप जडान र २ वटा घाँस काट्ने मेसिन बितरण गरिएको कसेनी मत्स्य पकेट संचालक समितिका अध्यक्ष हेमन्त सुवेदीले बताए ।

त्यसैगरी ४३ जना कृषकलाइ कमन, रौ, नैनी, ग्रास र भ्याकुर जातका माछाका भुरा पनि बितरण गरिएको थियो । यसै हप्ता माछाका भुरा लिएका ४३ कृषकहरुलाई नै माछा चुना समेत बितरण गरिएको कसेनी मत्स्य पकेट संचालक समितिका सचिव ज्ञानेन्द्र बरालले जानकारी दिए । बरालका अनुसार भौतिक दुरी कायम गर्दै यसै हप्ता सम्बन्धित कृषकहरुको उपस्थितिमा सार्वजनिक सुनुवाइ कार्यक्रम समेत सम्पन्न गरिएको छ ।