ब्लड क्यान्सरपिडित साक्षी लिम्बूका लागि जापान रहेका धनकुटेलीले जुटाए तीन लाख

  • २१ माघ २०७७, बुधबार

ईश्वर थापा, धनकुटा । ब्लड क्यान्सर भएर काठमाण्डौको कान्ति बाल अस्पतालमा उपचाररत धनकुटाको छथर जोरपाटी १ की साक्षी लिम्बूलाई तीन लाख १४ हजार १ सय ५ रुपैयाँ सहयोग प्रदान गरिएको छ।

धनकुटाको सहिदभूमि गाउँपालिका–७ घर भइ हाल जापानमा रहेका मिलन छिलिङको अगुवाईमा संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो।
बुधबार धनकुटामा आयोजित एक कार्यक्रममा लिम्बूको सहयोगका लागि देश तथा विदेशबाट संकलित रकम लिम्बूका बुवा गणेश लिम्बूलाई हस्तान्तरण गरिएको हो।

लिम्बूको गत फागुन ९ गतेदेखि उपचार भइरहेको र २४ मेन्टिनेस गर्नुपर्नेमा ४ मेन्टिनेस सकिएको गणेशले बताए। उनले पहिलेको अवस्थामा भन्दा अहिले साक्षीको स्वास्थ्यमा धेरै सुधार आएको बताए। उनले अझै अढाई वर्ष काठमाण्डौ बसेर उपचार गर्नुपर्ने भएकाले निकै खर्च हुने त्यसलाई भरपुर गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

सहयोग रकम शिक्षा विकास तथा समन्वय इकाई धनकुटाकी प्रमुख मोहन राईले हस्तान्तरण गरेकी हुन।

रकम संकलन गर्ने छिलिङ सहिदभूमि ७ को सिद्धदेवि माविका पूर्व शिक्षक समेत रहेकाले सोहि विद्यालयको आयोजनामा रकम हस्तान्तरण गरिएको हो।