बेलबारी २ का पाँच वटा सहकारी संस्थाहरु एकिकृत, बन्यो एउटै सहकारी

  • १६ चैत्र २०७७, सोमबार

‍‍‍मोरङको बेलबारी २ का ५ वटा सहकारी संस्थाहरु एकिकृत भएका छन् ।

पाँच वटा संस्था एकिकरण भई  पञ्चदीप बचत तथा ऋण सहकारी संस्था बनेको हो । एकीकरण हुनेमा गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी , सयपत्री बचत तथा ऋण सहकारी, कबीर बचत तथा ऋण सहकारी, संरक्षण बचत तथा ऋण सहकारी र लालभित्ति बचत तथा ऋण सहकारी छन् ।

पाँच वटा सहकारी एकिकरणपछि बनेको पञ्चदीप साकोसको पहिलो साधारणसभा शनिबार सम्पन्न भएको छ । एकीकृत भएपछि सहकारीका शेयर सदस्यको संख्या एक हजार पाँच सय ७८ पुगेको छ ।

बेलबारी नगर प्रमुख ज्ञानेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको साधारणसभाले लक्ष्मण थापाको अध्यक्षतामा ११ सदसीय नयाँ सञ्चालक समिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा सिताराम न्यौपाने, सचिवमा दिपक शर्मा, कोषाध्यक्षमा भिम कुमारी मगर, सहसचिवमा पुष्पराज भण्डारी चयन भएका छन् ।

नव गठित सञ्चालक समितिका सदस्यहरुमा राजु परियार, भुपाल बस्नेत, राजेन्द्र प्रसाद गिरी, दिलकुमारी नेम्वाङ, बिन्दा दाहाल र टोमा नेपाल चयन भएका छन् ।
सहकारी ऐन २०७४ मा एक ब्यक्ति एक सहकारी को निति ल्याइएपछि सहकारीहरुबिच एकीकरण गर्ने क्रममा पाँच सहकारीहरु मिलेर एउटै सहकारी बनेको सदस्य राजु परियारले बताए  ।

नयाँ संचालक समिति गठनका लागि गणेश प्रसाद दाहालको संयोजकत्वमा फडिन्द्र थापा र खगेन्द्र ओझा सदस्य रहेकोे तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो ।

बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले एकीकृत सहकारीको ब्यबस्थापनका लागि नगरपालिकाले केही सामग्री सहयोग गर्ने बताएका छन् । साधारणसभामा प्रदेश सहकारी रजिष्टर कार्यालयका अधिकृत दुण्डीराज दुलाल, लालीगुराँस साकोसका अध्यक्ष दुर्गाप्रसाद गौतम, बेलबारी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रताप थापा लगायतको पनि उपस्थिति थियो ।