खाडीबाट पठाइयो ५ सय ६० अक्सिजन सिलिन्डर, कतारमा जुटाइयो पैंतिस लाख 

चार दिनमा एक करोड ८ लाख रुपैयाँ संकलन

  • १ जेष्ठ २०७८, शनिबार

एनआरएनको आव्हानमा यूएई, कतार, ओमन, साउदी अरब, कुवेत र बहराइनमा कार्यरत नेपालीहरुले स्वतस्फूर्त रकम संकलन गरेर नेपाल सरकारलाई अक्सिजन सिलिन्डर पठाएका छन् ।

खाडी मुलुक अन्तर्गत ओमन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार स्थानीय समय अनुसार दिउँसो २:३० बजे ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको उपस्थितिमा नेपाल एयरलाइन्सको वाइड बडी मार्फत अक्सिजन सिलिन्डर नेपाल पठाइएको छ ।

“नेपालमा अक्सिजन पठाऔं, आफन्तको ज्यान बचाऔं” भन्ने नारा सहित एनआरएनको आव्हानमा शुरुमा ६ सय सिलिन्डर नेपाल पठाउने भनिएको थियो । तर शनिबार अर्थात जेष्ठ १ गतेको उडानबाट कुल ५ सय ६० थान सिलिन्डर नेपाल पठाइएको  सचिव शर्माले जानकारी दिए ।

सिलिन्डर ढुवानीको ब्यबस्था भने नेपाल सरकारले गर्ने  एनआरएनका सचिव शर्माले बताए ।  ढुवानीसहित ती सिलिन्डरको मुल्य करिब एक करोड बराबरको हुनेछ । अक्सिजन सिलिन्डर नेपाल पठाउने अभियानका मध्यपूर्व संयोजक समेत रहेका गैर आवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार १ थान अक्सिजन सिलिन्डरको मूल्य नेपाल पुग्दासम्म १२० अमेरिकी डलर बराबर पर्नेछ ।

कतारबाट मात्रै जुट्यो ३५ लाख        गैर आवासीय नेपाली संघ, मध्यपूर्व संयोजन समितिद्वारा थालिएको अभियानमा कतारबाट मात्र पछिल्लो तीनदिनमा १ सय ८० थान भन्दा बढी  सिलिण्डर मूल्य बराबरको रकम जुटेको छ ।

कतारबाट कुल १ लाख, ४ हजार, २ सय कतारी रियाल भन्दा बढी उठेको हो ।

गत बिहिबार गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिसद कतारद्वारा भर्चुअल मार्फत आयोजना गरिएको ‘ईद मिलन’ कार्यकममा कतारमा स्थापित संघ संस्थाहरुलाई एनसीसीका कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमान र आईसीसी सचिव आरके शर्माले सहयोग जुटाउन सामुहिक अपील गरेका थिए।

हालसम्म करीव ५० भन्दा बढी संघ संस्था, व्यबसायी, बुद्विजिवीहरुको सहभागिताबाट उक्त सहयोग जुटेको र अझैं सहयोग जुट्ने क्रम जारी रहेको एनसीसी कतारका अध्यक्ष मुहम्मद मुक्तदा मुसलमानले जानकारी दिए ।   कुन देशबाट कति उठ्यो ?     सचिव शर्माका अनुसार खाडी मुलुकबाट मात्रै चार दिनमा शनिबार साँझसम्म एक करोड ८ लाख रुपैयाँ संकलन भएको छ ।  जसमध्ये कतारमा ३५ लाख, बहराइनमा २० लाख, ओमानमा १५ लाख, संयुक्त अरब इमिरेट्स (यूएई) मा १५ लाख, साउदी अरबमा १३ लाख र कुवेतबाट १० लाख संंकलन भएको छ । सिलिन्डरबाहेक थप स्वास्थ्य सामग्री समेेत पठाउन आर्थिक अभियान जारी राखिएको शर्माले बताए ।