बिराटचोकमा १४ करोडको लागतमा बन्नेभो व्यवस्थित कृषि बजार

  • १८ पुष २०७८, आईतवार

सुन्दरहरैचा नगरपालिकाको वडा नंं ९ बुध्बारेमा अबस्थित हाटबजारलाई व्यवस्थित कृषि बजारको रुपमा विकास र विस्तार गरिने भएको छ ।

शहरी पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नगर विकास कोषको सहयोगमा सुन्दरहरैचा नगरपालिले ब्यबस्थित ‘बुधबारे कृषि बजार’ बनाउने भएको हो ।

कुल १४ करोड २६ लाख ८८ हजारमा सम्पन्न हुने आयोजनाको ८० प्रतिशत रकम नगर बिकास कोषले र २० प्रतिशत रकम नगरपालिकाले ब्यहोर्ने छ ।

कृषि बजारको आयोजना संचालनका लागि सुन्दरहरैचा नगरपालिका र नगर विकास कोषबीच हालै सम्झौता भएको छ । नगर विकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटा र सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिव प्रसाद ढकालबिच ११ करोड ४१ लाख ५० हजारको सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

सुन्दरहरैचा नगरपालिकाको करिब १० रोपनी क्षेत्रफलमा निर्माण हुने यो आयोजना नगरपालिकाको महत्वपूर्ण कृषि पूर्वाधार भएको र सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले बताए । ढकालले सो आयोजनालाई नमूना कृषि पूर्वाधार आयोजनाको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नगर बिकास कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद सापकोटाले नगरपालिकामा निर्माण हुने यस आयोजनाले हालको अव्यवस्थित कृषि बजार व्यवस्थित हुने र स्थानीय आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । शहरी पूर्वाधारमा लगानीलाई विविधिकरण गर्ने योजना अनुसार नगर विकास कोषले सुन्दरहरैचा नगरपालिकामा कृषि पूर्वाधारको आयोजनामा लगानी बढाएको सापकोटाले बताए ।