बेलबारी प्रज्ञा प्रतिष्ठानले गर्यो परिचय आदानप्रदान तथा शुभकामना कार्यक्रम

  • ५ कार्तिक २०७९, शनिबार

बेलबारी नगरपालिकाद्वारा गठन गरिएको बेलबारी प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु एक कार्यक्रम मार्फत परिचित भएका छन् ।

कार्यकालको शुभारम्भसँगै तिहार, न्हु दया, छठ र उँधौलीको शुभकामना कार्यक्रम मार्फत उनीहरू का रूपमा शुभकामना कार्यक्रम गर्दै उनीहरू सबैमाझ परिचित भएका हुन् ।

प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यतामा शनिबार गरिएको कार्यक्रममा साहित्यकार/सङ्गीतकर्मी मधु गुरुङ, एमाले बेलबारी नगर अध्यक्ष ईरान राई, काङ्ग्रेसका पूर्व नगर सभापति तथा नाट्यकर्मी शम्भु भट्टराई, नेकपा (माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष राम किराँती, जसपा बेलबारी नगर उपाध्यक्ष कमल गुरुङ तथा बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र सुवेदी, वडाध्यक्षहरू कृष्ण गुरुङ, डिल्ली ब. कटुवाल, विक्रम बान्तावा तथा नगर सभा सदस्यहरू रामकुमार घिमिरे र तारा सुन्दास लगायतको आतिथ्यता थियो ।

कार्यक्रममा बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राइले बेलबारीका भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य क्षेत्रलाई अझै अध्ययन–अनुसन्धान गरी उत्थान, संरक्षण र विकास गर्नुपर्ने बताए । उपस्थित अतिथि तथा बक्ताहरुले प्रतिष्ठानले नगरभित्रका सबै भाषा, साहित्य, कला, सङ्गीत तथा नाट्य विधाको विकास गर्नुपर्ने बताए ।

प्रज्ञा प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदीले अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कुलप्रसाद बरालले गरेका थिए । कार्यक्रममा उपाध्यक्षहरु मनकुमार गुरुङले र अजितकुमार धिमालले स्वागत तथा धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा गजलकार जेबी थुलुङले गजल तथा विवेश मोते, लक्ष्मी पौडेल र मौसम नेपालीले गीत प्रस्तुत गरेका थिए ।

प्रज्ञा समितिका पदाधिकारी तथा सदस्यहरूको परिचयसमेत गराइएको सो कार्यक्रममा १ सयभन्दा बढी स्रष्टा, कलाकार तथा अतिथिहरूको उपस्थिति थियो ।