कृषि पेशाबाट छुट्टै पहिचान बनाउँदै सहायक प्रमुख जिल्ला अधिकारी

  • १५ श्रावण २०८०, सोमबार

१० बज्दा कार्यालयमा पुग्ने मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप साह  बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिन्छन् । उनले फुर्सदको समयलाई कृषि व्यवसायमा खर्चिने गरेका छन् ।

केराबारी गाउँपालिका–९ घङगरुमा जग्गा लिजमा लिएर उनले कृषि फार्म खोलेका छन् । साहसहित २ जना मिलेर ओसिस स्मार्ट एग्रो फार्म सञ्चालन गरिरहेका छन् । एक वर्ष बित्न नपाउँदै उनले फार्मबाट आम्दानी लिन थालेका छन् । उनको फार्ममा लगाइएको ड्रागन फ्रुटले छोटो समयमै आम्दानी दिन थालेको छ । एक वर्ष नबित्दै उत्पादन दिन थालेपछि उनी कृषिप्रति हौसिएका छन् ।

उनले गत वर्ष झापाबाट ड्रागन फ्रुटको बिरुवा ल्याएर रोपेका थिए । बिरुवा ल्याउँदा डेढ वर्षमा मात्रै फल्छ भन्ने कृषि प्राविधिकलाई पनि उनले माथ खुवाइदिएका छन् । घरायसी मलबाहेक कुनै विषादी प्रयोग नगरी गोबर मल र पिना मात्रै प्रयोग गर्ने गरेको उनले सुनाए ।
कुनै पनि विषादी प्रयोग नगरी गाईको गोबर मलमा गड्यौला राखेर बनाइएको मल मात्रै प्रयोग गर्ने गरेको उनले बताए । उनीहरूले ३ बिघा जमिन लिजमा लिएका छन् । ड्रागनसँगै सागसब्जी पनि उत्पादन गर्ने गरिएको छ ।

फार्ममा बाख्रा, बंगुर तथा लोकल कुखुरा समेत पालिएका छन् । फार्ममा गाईपालन गर्ने तयारी छ । उनले उन्नत जातको घाँस रोपिसकेका छन् । उनी बिदाको समय फार्ममा बिताउँछन् भने अन्य समय पत्नी सीता शाह र साझेदार मैना गुरुङ थापाले हेर्ने गरेका छन् । फार्मले २ परिवारलाई रोजगारी दिएको छ ।

पत्नी सिताकै योजनामा प्रदीपले फार्म खोलेका हुन् । ‘सीताले जागिर नखाने, कृषिमा केही गर्छु भनेपछि मैले पनि सहमति जनाइहालें,’ प्रदीपले भने, ‘मलाई पनि कृषिप्रति सानैदेखि मोह थियो । म पनि रिटायर्ड लाइफ कृषिमै बिताउने हो ।’ सहायक सीडीओको कृषि फार्म हेर्न आउनेहरूको भीड लाग्ने गरेको छ ।

फार्म नै हेर्न भनेर किसान मात्र नभएर उद्योगी तथा व्यापारी समेत पुग्ने गरेका छन् । बिदाको दिनमा भीड नै लाग्ने गरेको उनी बताउँछन् । फार्ममा फोटा खिच्ने र टिकटक बनाउनेको भीडभाड लाग्ने गरेको छ । सामाजिक सञ्जालमा राम्रो प्रचार भइरहेको सीताले बताइन् । फार्मका लागि गाउँका किसानको गोठमा उत्पादन हुने गोबर मल किन्ने तयारी भइरहेको छ । गोबर मल किनेर गड्यौले मल बनाएर बजारका घरका छतहरूमा तरकारी तथा ड्रागन फ्रुट उत्पादन गराउने उनको योजना छ ।

उनी बेलबारी नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत पनि हुन् । उनी नगरपालिकामा हुँदा नै बजारमै एउटा कम्प्लेक्स बनाउन सुरू गरिएको थियो । कृषि तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्लेक्स निर्माण गरिँदैछ । पहिलो तलामा कृषकले उत्पादन गरेका कृषि सामग्रीहरू राख्ने गरी तत्कालीन मेयर ज्ञानेन्द्र सुवेदी र प्रमुख प्रशासकीय अधिकृत शाहले योजना ल्याएका थिए । कम्प्लेक्स निर्माण भएपछि आफूले उत्पादन गरेका खाद्यवस्तुसहित माटो तथा मल समेत फार्ममा राखिने उनले बताए । कम्प्लेक्स ३ तलाको बनाउने गरी काम थालिएको छ ।