लालिगुराँस साकोसद्वारा तीन दर्जन बुवाहरु सम्मानित

  • २८ भाद्र २०८०, बिहीबार

कुशे औंशीको अबसरमा मोरङ बेलबारीस्थित लालिगुराँस बचत तथा ऋण सहकारी संस्थाले जेष्ठ नागरिक सम्मानसहित बुवाको मुख हेर्ने कार्यक्रम गरेको छ ।

बिहीबार एक कार्यक्रम गरी लालिगुराँस सहकारीले ७० बर्ष माथिका तीन दर्जन शेयर सदस्य वा शेयर सदस्यका बुवाहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा बेलबारी नगरपालिकाकी उपमेयर नितु थापा कोइराला, बेलबारी ३ का वडाध्यक्ष योगेन्द्र प्रसाद सुवेदी, लालीगुराँस साकोसका अध्यक्ष दुर्गा गौतम लगायतले ढाकाटोपी, दोसल्ला र प्रमाणपत्र दिएर बुवाहरुलाई सम्मान गरेका थिए । वुबाको मुख हेर्ने दिन संस्थाले गर्ने सम्मान ग्रहण गर्न कतिपय बुवाहरु लौरो टेक्दै एक्लै आएका थिए भने कतिपय परिवारका सहयोगीको साथमा आएका थिए । सम्मान पाएकोमा सबैजसो बुवाहरु खुशी देखिन्थे । सबैजसो समुदायका वुबाहरुले सम्मान ग्रहण गर्दाको क्षण निकै रोचक देखिन्थ्यो ।

मोरङको उत्कृष्ट मध्येको एक मानिने लालिगुराँसले सामाजिक क्षेत्रमा बर्सेनि धेरै काम गर्दै आएको छ । यस सहकारीले बेलबारी बहुमुखी क्याम्पसमा छात्रबृतिको लागि १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । त्यसैगरी बर्षेनी सामुदायिक स्कुलमा अध्ययन गर्ने शेयर सदस्यका ४ जना छोराछोरी लाई १० हजारका दरले छात्रबृत्ति दिँदै आएको संस्थाका अध्यक्ष दुर्गा गौतमले जानकारी दिए ।

आमाको मुख हेर्ने दिन आमाहरुलाइ पनि सम्मान गर्ने गरेको संस्थाले समय समयमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । २९ बर्षे इतिहास बोकेको सहकारीले बिगतदेखि एम्बुलेन्स पनि संचालन गर्दै आएको छ ।