मेची बहुउद्देश्यीय सहकारीले बेलबारीमा पनि गर्यो वार्षिक साधारणसभा

  • ४ भाद्र २०८१, मंगलवार

झापाको दमकमा केन्द्रीय कार्यालय रहेको सहकारीका  १२ वटा सेवा केन्द्र छन् भने १६ हजार ३ सय ४८ जना शेयर सदस्य छन् । कुल ४ अर्बभन्दा बढी पुँजी भएको संस्थाले निकट भविष्यमै सुन्दरहरैँचामा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको छ। संस्थाले गत बर्ष नेपाल सरकारलाई ३ करोड २१ लाख कर तिरेको थियो ।

पाँच सय ७३ जना शेयर सदस्य  रहेको बेलबारी सेवा केन्द्रको ४ करोड बराबरको ब्यालेन्स सिट रहेको साधारणसभामा जानकारी दिइएको छ। संस्थाले हालसम्म बेलबारी सेवा कार्यालय अन्तर्गतका ५७ जना सेयर सदस्यलाई विभिन्न शिर्षकका ४ लाख रुपैयाँ भन्दा बढिको सुविधा वितरण गरेको छ । बेलबारीका सदस्यहरुले जुनसुकै अप्रेसन सुविधा, जटिलरोग अप्रेसन सुविधा, प्राकृतिक प्रकोप राहत, प्लस टु छात्रवृत्ति पुरस्कार, सामुदायिक विद्यालय प्रथम छात्रवृत्ति पुरस्कार, बालबचत सुविधा, बुहारी सेयर सुविधा, सदस्यको आमावुवा वा श्रीमान् श्रीमतीको निधनमा काजक्रिया खर्च लगायत सुविधाहरु लिएका छन् । संस्थाले अब सुत्केरी स्याहार सुबिधा पनि शुरु गर्ने भएको छ।

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बचतको आवश्यकता तथा संस्थाको नीति र भविष्यको योजनाबारे जानकारी दिए। फजुल खर्च नियन्त्रण गरेमा जसले पनि बचत गर्न सक्ने भन्दै भट्टराईले शेयर सदस्यहरुलाइ भविष्यका लागि बचत गराउँदै स्वाभिमानी र आत्मनिर्भर बनाउने  मुख्य उद्देश्य रहेको बताए।

यस अधि नै दमकमा मेची आवास निर्माण गरिसकेको संस्थाले आगामी वर्ष पानीको उद्योग निर्माणका लागि २ करोड, मेची आवास-२ निर्माणका लागि ४ करोड र फलफूल खेतीका लागि बजेट विनियोजन गरेको छ।

कार्यक्रममा जटिल मुटुरोग अप्रेसन सुबिधा बापत बेलबारी सेवा केन्द्र अन्तरगत शेयर सदस्य सरस्वती शर्मा उपाध्यायलाई ५० हजार रूपैयाँ प्रदान गरिएको थियो।

यसैगरी साधारणसभामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु रमा निरौला, भुवनसिंह खत्री, सुरज भन्डारी, मेघनाथ अधिकारी, सदस्य उपस्ना सुब्बाकी छोरी नुङनुमा बान्तवालाई पुरस्कृत गरिएको थियो । संस्थाले सामुदायिक विद्यालय एकता आधारभुत बिधालय प्रथम हुने सेयर सदस्य टिकाराम खत्रीका छोरा नयन खत्रीलाइ पनि रु ५ हजार पुरस्कार प्रदान गरेको छ ।

बेलबारी नगरपालिका ३ का वडाध्यक्ष योगेन्द्र सुवेदीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला सहकारी संघकी उपाध्यक्ष पार्वती बराल र कोशी प्रदेश बचत तथा ऋण सहकारी संस्था संघका अध्यक्ष हरि सुवेदी लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए । साधारणसभाको अध्यक्षता बेलबारी केन्द्रका संयाेजक सन्ताेष वान्तवाले गरेका थिए ।

मेची बहुउद्देश्यीय सहकारीले यसअघि नै उर्लाबारी, पथरी, मिक्लाजुङ, लेटाङ, कमल, चुलाचुली, बिर्तामोड, शिवसतासी, कन्काइ, गौरादह लगायतका स्थानमा सेवाकेन्द्र बिस्तार गरेको छ । सबै सेवाकेन्द्रमा साधारणसभा गरिसकेको संस्थाले जनाएको छ ।