गाउँसभामै कुटाकुट गरे जनप्रतिनिधि, लिनुपर्यो पुलिसको सहारा

  • २३ भाद्र २०७५, शनिबार

झापाको कचनकवल गाउँपालिकाका जनप्रतिनिधिबीच हात हालाहाल भएको छ । गाउँपालिकाले शनिबार आयोजना गरेको दोस्रो सभाको उद्घाटन कार्यक्रममा जनप्रतिनिधिहरूबीच हातपात भएको हो। जनप्रतिनिधिबीच भएको घम्साघम्सीमा परी कचनकवल -७ महिला सदस्य लक्ष्मी इदिङ्गो घाइते भएका छिन्।
उनको टाउँकोमा चोट लागेकोले उपचारका लागि बिर्तामोड लगिएको जनाइएको छ ।

गाउँपालिका अध्यक्ष अञ्जार आलमले बहुमतको आधारमा एकलौटी रुपमा गाउँसभा गर्न लागेपछि असन्तुष्ट पक्षका जनप्रतिनिधिसहित नेपाल कम्प्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताहरू विरोधमा उत्रिएका थिए।

विरोधका बाबजुद गाउँपालिका अध्यक्ष आलमले गाउँ सभा उद्घाटन गर्न खोजेपछि असन्तुष्ट पक्षका वडा अध्यक्ष र सदस्यले उनको माइक खोस्ने क्रममा दुवै पक्ष बीच हातपात भएकाले कार्यक्रम स्थल तनावग्रस्त बनेको थियो। स्थिति तनावग्रस्त बनेपछि भीड नियन्त्रण गर्न जनप्रतिनिधिमाथि प्रहरीले बल प्रयोग समेत गरेका थिए ।

त्यसो त बिहानैदेखि सभा परिसर स्थलमा नेपाल कम्प्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताहरूले नाराबाजी गरेका थिए । त्यस्तो अबस्थामा  नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरी उनीहरूलाई सभाहल प्रवेशमा रोक लगाएका थिए ।