सुनसरीमा भारतीय अपराधीको हत्याकाण्ड, गोली हानेर नेकपाका नेताको हत्या, प्रहरी घाइते

  • ४ आश्विन २०७५, बिहीबार

सुनसरीको हरिनगर गाँउपालिका २ मा गोली प्रहार गरी नेकपाका एक  नेताको  हत्या भएको छ ।  सुनसरी  भुटाहाको रेयान नेशनल पब्लिक स्कुलको ब्यबस्थापन समितिका अध्यक्ष समेत रहेका ५१ बर्षिय खुर्शिद आलमको अज्ञात समुहले गोली हानी हत्या गरेको हो ।

प्रहरीका अनुसार स्कूल सञ्चालक समितिको बैठक सकेर अमीन अन्सारीको मोटरसाइकलमा पछाडि बसेर विद्यालयबाट दक्षिण घरतर्फ जाँदै गरेको बेला दिउँसो ११ बजेर १५ मिनेटमा सोही दिशाबाट आएको चार जनाको अज्ञात समूहले पहिचान गरेर खुर्शिदलाई गोली प्रहार गरेका थिए ।

सञ्चालक समितिको बैठक समापन भएसँगै साथी अमीन अन्सारीको मोटरसाइकलमा गइरहेको बेला नम्बर प्लेट नभएको सोही दिशाबाट सेतो रङ्गको अपाचे र नीलो रङ्गको पल्सर मोटरसाइकलमा आएका चार जनाको समूहले दुवै तर्फबाट छेकेको र खुर्शीद को हो भनी सोध्दै खुर्शिदले म हँु भनेपछि उहाँको टाउको र छातीमा गोली प्रहार गरेको हरिनगर गाउँपालिकाका न्यायिक समितिका सदस्य अलाउद्दिन अन्सारीले बताउनुभयो ।

गोली प्रहार गरेर भागिरहेका अज्ञात व्यक्तिलाई घुस्की प्रहरी चौकीमा कार्यरत प्रहरी हबलदार शिवलाल पौडेलले रोक्न खोज्दा उनलाई समेत खुट्टामा गोली प्रहार गरेर एक सयभन्दा बढीको स्पिडमा मोटरसाइकल लिएर भारततर्फ भागेको प्रत्यक्षदर्शी लुकमान अन्सारीले बताउनुभयो । त्यहाँबाट भारतको बोड १५ किलोमिटर रहेको छ । घाइते भएका प्रहरी हबलदार पौडेलको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको सुनसरीका प्रजिअ प्रेमप्रकाश उप्रेतीले बताउनुभयो ।

आलम पुर्व  एमालेका सुनसरी जिल्ला सल्लाहकार पनि हुन । उनी  मौलना भएका कारण पनि उनी भारत नेपाल आवतजावत गरिरन्थे । उनलाई  के कारणले गोली हानियो  भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ  । गोली प्रहार गरिएको स्थानदेखि भारतीय सिमा करिब ७ किलोमिटरको दुरीमा छ । भुटाहामा शसस्त्र प्रहरी बलको डिएसपी कमाण्डमा क्याप समेत छ ।

यता प्रहरी पनि घटनास्थलमा ढिलो आइपुगेको भन्दै स्थानियहरु प्रहरी बिरुद्ध आक्रोशित बनेका छन्  ।शसस्त्र प्रहरी कै अगाडी भारतीय अपराधीक सुटर समुह भाग्दा समेत प्रहरीले केही नगरेको नेकपाका जिल्ला सदस्य लस्करी अन्सारीले बताए ।  स्थानियले आलमको शव प्रहरीसँग खोसेर सडकमा राखेर प्रशासन बिरुद्ध नाराबाजी गरेका छन् भने  हरिनगरका बिभिन्न ठाँउमा टायर बालेर स्थानियहरु आन्दोलित भएका छन् ।

स्थिति तनावपूर्ण र आतंकित भएपछि प्रहरी प्रसासनले उच्च सतर्कता अपनाएको छ । जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ । हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुर्इ एसपी पुगेका छन् भने व्यापक प्रहरी परिचालन गरिएको छ ।