देवीझोडामा जंगली हात्तीको उपद्रो, हात्तीकै त्रासले रातभर जाग्राम बस्दै स्थानीयबासी

  • १४ आश्विन २०७५, आईतवार

मोरङको केराबारी ९ देवीझोडामा शनिबार  राती जंगली हात्तिले गाउँ पसेर उपद्रो मच्चाएका छन्  ।

शनिबार मध्यराति देवीझोडास्थित खोरि गौंडाबाट गाउँ छिरेका हात्तिले दर्जनौं किसानको धानवाली बिगारेको छ । त्यसैगरी किसानको खेतमा लगाएका केरामा पनि निकै क्षति पुर्याएको छ ।

स्थानीय बासिन्दाका अनुसार राति पाँच वटा जंगली हात्ती एकसाथ गाउँ छिरेका थिए । हात्तीले स्थानीय जीत बहादुर देवानको घर भत्काएको छ । देवानको घर पुर्ण रूपमा भत्काउदा अन्नपात, लत्ताकपडा लगायत सबै क्षति भएको स्थानीय युवा ठानेश्वर बरालले बताए । देवानको घरमा आइतबार बिहान केराबारी ९ का वडाध्यक्ष लगायतका जनप्रतिनिधि पुगेर खाध्यान्न लगायतका सामग्री सहयोग गरेका छन्

गाउँमा हात्ती आएको थाहा पाएपछि देवीझोडाका सबैजसो गाउँलेहरुले रांको र लाठी मुङ्ग्री बोकेर भेला भइ होहल्ला गर्दै हात्ती धपाउने कोशिश गरेका थिए । हात्ती आतंक बढेपछि राती नै प्रहरी टोली समेत आएको थियो । रातभरको होहल्ला र मेहनतपछि पाँच मध्ये तीनवटा हात्ती लोहोन्द्रा खोला तरेर पारितिर गएको र दुईवटा हात्ती देवीझोडा सिरानको जंगलतिर गएको स्थानीय कुशल पौडेलले बताए ।

स्थानीय युवा बरालका अनुसार शुक्रबार रातीदेखि नै ती पाँचवटै हात्ती खोरिया क्षेत्रमा प्रवेश गरेका थिए । शुक्रबार राती हात्तीले खोरिया क्षेत्रमा केही बिघा क्षेत्रफलमा लगाएको धानबाली बिगारेको र जंगल छेउमा बसेका तिनै हात्ती शनिबार राति गाउँ पसेको उनलेे जानकारी दिए । पाँचमध्ये दुइवटा हात्ती आइतबार बिहान पनि देवीझोडा सिरानको जंगलमा देखा परेकोले फेरि  पनि हात्ती आउनसक्ने बरालले बताए । – अम्बिका भण्डारी