मोटरसाइकल किन्न छुट्याइएको रकमले बिपन्नका घर बनाइदिंदै कानेपोखरीका वडाध्यक्षहरु

  • २९ आश्विन २०७५, सोमबार

मोरङ । जनप्रतिनिधि सुविधाभोगी हुन थालेको गुनासो आईरहेका बेला मोरङको कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधिहरुले आफैले गरेको निर्णय फिर्ता लिदै बिपन्नहरुको खरको छानो हटाइ जस्तापाता लगाइदिने निर्णय गरेका छन् ।

गाउँपालिकाका ७ वटै वडाध्यक्षहरुको लागि भनेर मोटरसाइकल खरिद गर्न छुट्याएको १६ लाख रुपैया रकमबाट उनीहरूले  गाउँपालिका भित्रका बिपन्नहरुको खरको छानो हटाएर टिनको छानो लगाईदिने भएका हुन्  ।

वडाध्यक्षहरुले जनताको आलोचना खेपेर मोटरसाईकल नचढ्ने निधो गरेपछि कार्यपालिकाको बैठकले मोटरसाइकल किन्ने पुरानो निर्णय उल्ट्याउंदै सो रकमबाट बिपन्नका घर छाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता सुशिल बुढाथोकीले बताए । मोटरसाइकल किन्न भनी बिनियोजन गरेको १६ लाख रुपैया  गाउँपालिका भित्रका  ‘खरको छाँनो हटाउने’  कार्यक्रममा लगाएको बुुुढाथाेेकीले बताए । यस अघि खरको छानो हटाउने कार्यक्रममा गाउँपालिकाले २० लाख बिनियोजन गरेको थियो ।

 ‘खरको छानो हटाउने’ कार्यक्रमका लागि हाल ३६ लाख जम्मा भएको छ । सो रकमले गाउँपालिका भित्रको गरिबहहरुका खरका छाना हटाएर टिनको छानो लगाउने अभियान शुरु गरिएको गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्लेले बताए ।