पाथिभरा मन्दिरमा पहिलोपटक एक हजार आठ चण्डीपाठ सम्पन्न

  • ३ कार्तिक २०७५, शनिबार

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी (१००८ चण्डीपाठ) संपन्न भएको छ । 

वडादशैको अवसरमा असोज २४ गते घटस्थापनादेखी सुरु भई कार्तिक १ गते महानवमीसम्म सहश्रचण्डी आयोजना कमिटिको आयोजनामा विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको परिसरमा सहश्रचण्डी संपन्न भएको हो ।
पाथिभरा मन्दिरमा धेरै भन्दा धेरै धार्मिक पर्यटक पु¥याउने उद्देश्यका साथ सहश्रचण्डी संचालन गरिएको आयोजना कमिटि संयोजक युवा विद्वान लक्ष्मण गुरुले बताउनुभयो । १००८ चण्डीपाठ संचालन हुने ९ दिनमा आन्तरिक तथा बाह्य गरि २ लाख धार्मिक पर्यटक मन्दिरमा दर्शनका लागि पुगेको आयोजकले जानकारी दिएको छ । नेपालका बिभिन्न स्थानबाट त्यस्तै भारतको सिलगडी, सिक्कीम, आसाम लगायतका ठाउँहरुबाट पनि भक्तजनहरु सहभागी भएका थिए ।
सहश्रचण्डी युवा विद्वान लक्ष्मण गुरुकै सत्संकल्पमा संपन्न भएको हो । ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । श्रीहरि आध्यात्मिक गुरुकुल मनकामना संखुवासभा र श्रीहरि आध्यात्मिक गुरुकुल बुढीगंगा ३ बाँसबारी मोरङका संस्थापक अध्यक्ष समेत रहनुभएका युवा विद्वान गुरुले १००८ चण्डीपाठ गर्न १ सय जना ब्राम्हणलाई ४ दिन लाग्ने भएतापनि यो अवसरमा भने ४२ जना ब्राम्हणले ९ दिनमा पुरा गरेको पनि जानकारी दिनुभयो ।
पाथिभरा मन्दिर ताप्लेजुङको परिसरमा दैनिक रुपमा सहश्रचण्डी पाठ र वनस्पति हवन सन्चालन भएको कार्यक्रममा सवा करोड दिप प्रज्वलन समेत संपन्न भएको छ ।