चार हजार घुस नदिंदा महिलालाई गालामै थप्पड हानेछन् प्रहरी असइले

  • २१ कार्तिक २०७५, बुधबार

सुनसरी / सुनसरीको सीमावर्ती भोक्राहा नरसिंह गाउँपालिका ७ नरसिंहकी शोभा मेहतालाई उल्टी अस्थायी प्रहरी चौकीका असई गजेन्द्र कटुवालले आक्रमण गरेका छन् ।

कटुवालले घर खर्चका लागि सीमापारीबाट समान ल्याउने क्रममा कार्तिक १७ गते मेहतालाई सीमामा रोकी सोधपुछ समेत नगरी थप्पड हिर्काएर आक्रमण गरेको स्थानीयहरुले बताएका छन् ।

पीडितलाई सुरुमा पैसा मागेको र नदिएकाले थप्पड हानेको स्थानीय डीके यादवले बताए । पीडितसंग चार हजार रुपियाँ माग गरेको र नदिने भएपनि समान खोसी आक्रमण गरेको पीडितले बताईन् ।

पीडितले प्रहरीको आक्रमण भएकाले आफै स्थानीय क्लिनिकमा गएर उपचार गराएको बताईन् । उनले घटनाको बारेमा कहिकतै डरका कारणले उजुरी नगरेको सुनाईन् । पीडितले आफ्नो अनुहार कुटपिटबाट सुनिएको गुनासो गरिन्  ।

यता सुनसरीका डिएसपी ज्ञानेन्द्र फुयालले घटनाको बारेमा आफूलाई केही थाहा नभएको प्रतिकृया दिए । उनले त्यस विषयमा सम्बन्धीत इकाइलाई सोधेर मात्र थाहा हुने बताए । – जयकृष्ण यादव/इन्सेक सुनसरी