युवा सशक्तीकरणका लागि निकै प्रभावकारी बन्यो बुढीगंगामा भएको बृहत युवा सम्मेलन

  • ७ पुष २०७५, शनिबार

इश्वरी घिमिरे बुढीगंगा,मोरङ/ “समृद्द राष्ट्र निर्माणका लागि युवा अभियान” भन्ने मुलनारासहित मोरङको बुढीगंगामा संचालित बृहत् युवा सम्मेलनमा गरिएको प्रशिक्षण प्रभाबकारी देेेखिएको छ ।

युवापुस्ताहरुलाई सशक्त बनाई उनीहरुको क्षमताविकास र राष्ट्रनिर्माणमा सक्रिय गराउने उद्देश्यले संचालित यस प्रशिक्षण कार्यक्रम निकै प्रभावकारी देखिएको हो । प्रशिक्षणमा  विभिन्न क्षेत्रका महिला तथा पुरुष गरी ५ सयभन्दा बढी युवाहरुको सक्रिय सहभागिता रहेको छ।

जनजागृती युवा क्लब बुढीगंगा मोरङले आयोजना गरेको उक्त कार्यक्रममा सहभागी सम्पुर्ण सहभागीहरूलाई धारणा र व्यवहार, उत्प्रेरणा र विकास , उद्यमशीलता, यौन तथा प्रजनन स्वास्थ्य, लैङ्गिक विभेद र युवा नीति, उदघोषण कला, कानुन र सामाजिक मेलमिलापमा युवाहरुको भुमिका, सकारात्मक सोच र क्षमता विकास, साइबर अपराध र लागुऔषध दुर्व्यसन लगायतका विषयहरुमा प्रशिक्षण दिइएको  छ ।

प्रशिक्षणबाट आफूले नजानेका धेरै कुराहरु सिक्ने अवसर पाएकोले ज्यादै हर्षित भएको बुढीगंगा ३ बाट सहभागी हुन आएका सबनम थान्दारले बताए । प्रशिक्षणमा सहभागी ममता के. सी. ले पनि प्रशिक्षण धेरै उपयोगी भएको बताइन् ।

सम्मेलनमा भागिरथ पोखरेल, गणेश लुइँटेल,वसन्त अधिकारी,सागर भट्ट, सीता पोख्रेल, लक्ष्मी गिरी, अशोक चौधरी र मनोज के. सी.ले प्रशिक्षण प्रदान गरिरहेका छन् । युवाहरुमा सकारात्मक सोचको विकास गरी समृद्ध समाज र राष्ट्रनिर्माण गर्ने उद्देश्यले आफुहरुले यस्तो प्रशिक्षण संचालन गरेको आयोजक समितिका अध्यक्ष मकरबहादुर बुढाथोकीले बताए ।

हालसम्मका सरकारी नीति तथा कार्यक्रममा युवाहरुलाई कुनैपनी सरकारले वास्ता नगरेकोले अब स्थानीय स्तरबाटै आफूहरुले यस्तो सकारात्मक कार्यक्रमको शुरुवात गरेको समितिकी सचिव रीता न्यौपानेले बताइन् । पौष ६ गतेदेखि सुरु २ दिने उक्त कार्यक्रम शनिबार समापन हुने आयोजकले जनाएको छ।