आफैंले बोकेको बन्दुक पड्केर प्रहरी जवान गम्भीर घाइते, उपचारसंगै अनुसन्धान पनि चल्दै

  • १० पुष २०७५, मंगलवार

मोरङको उर्लाबारीमा आफैले बोकेको बन्दुक पड्किँदा प्रहरी जवान गम्भीर घाइते भएका छन् ।
सोमबार विहान साढे ५ बजे गस्तीमा रहेको इलाका प्रहरी कार्यालय उर्लाबारीको बा १ झ ६४५० नम्बर को भ्यानमा रहेका प्रहरी जवान सञ्जीव खडकाले बोकेको राइफल पड्किदा उनी गम्भीर घाइते भएका हुन् ।

गस्तीका क्रममा उर्लाबारी नगरपालिका वडा नं. ३ स्थित थापा चौकमा पुग्दा खड्काले बोकेको इन्फिल्ड मार्काफोर १ राइफल एक्कासी पड्किएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार खड्काको छातीको दाहिने भागमा गोली लागेको छ । गोलीले उनको छाती छाडेर प्रहरी भ्यानको छत पनि दुलो परेको छ । घाइते जवानको विराटनगरस्थित न्यूरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।