दुई करोड रुपैयाँको लागतमा बिराटचोकमा बन्यो ‘स्पोर्ट्स् ग्राम’
- २५ पुष २०७५, बुधबार
जनस्तरबाटै सहयोग जुटाएर दुई करोड रुपैयाँको लागतमा मोरङ सुन्दरहरैंंचामा सुविधा सम्पन्न अत्यााधुनिक कवर्ड हल निर्माण भएको छ ।
विभिन्न खेलहरू खेल्न सकिने गरी सुन्दरहरैंचा नगरपालिका ८ मा ‘स्पोटर्स ग्राम’ नामक आधुनिक भवन निर्माण भएको हो । स्थानीय दाताको सहयोगमा प्राप्त १० कठ्ठा जमिनमा निर्माण भएको स्पोटर्स ग्राममा व्याडमिन्टन, टेवल टेनिस, बास्केटबल, तथा भलिवल जस्ता खेलहरू सहज रुपमा खेल्न सकिन्छ ।
भवन निर्माणका लागि २ सय १६ जना स्थानीय दाताले आर्थिक सहयोग गरेको दुर्गादेवी स्पोटर्स क्लव सुन्दरहरैंचाका अध्यक्ष भोलेश्वर दुलालले बताए ।
अहिलेसम्म २ सय १६ जनाबाट एक करोड ३५ लाख रुपैयाँ सहयोग प्राप्त भएको दुलालले बताए । उनका अनुसार दाताले पाँचहजार देखि २५ लाख रुपैयाँसम्म सहयोग गरेेका छन् । भवन निर्माणका क्रममा ४५ लाख रुपैयाँ ऋण लागेको भएपनि देशकै उत्कृष्ठ र आधुनिक भवन बनाउन स्थानीयले ठूलो योगदान गरेको उनलेे बताए ।
पूर्वपश्चिम राजमार्गदेखि कवर्ड हलसम्म पुग्ने ६ सय मिटर सडकलाई ए ग्रेडको ग्राभेल बनाइएको छ । सो सडकलाई नगरपालिकाले यसै वर्ष कालोपत्रे गर्ने नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।
आधुनिक र सुविधासम्पन्न तथा प्रयाप्त पार्किङसहितको कवर्ड हल १ सय ६५ फिट लामो, ७५ फिट चौडा र ३५ फिट उचाईको छ । काठ पार्केटिङ गरिएको दुई ओटा व्याडमिन्टन पोष्ट, बास्केटबल, भलिबल र टिटिसहित खेल्न सकिने हलमा महिला र पुरुषका लागि दुई छुट्टा छुट्टै चेन्जिङ रुमको व्यवस्था गरिएको छ । चेन्जिङ रुममा व्यक्तिगत दराजको सुविधा उपलव्ध छ । १ सय ७५ जना भिआइपी दर्शक अटाउने क्षमताको प्याराफिट र ७ सय दर्शकले भवनभित्रै बसेर खेल अवलोकन गर्न सक्नेछन् । खेलकुद नभएको समयमा बिहान १० बजेपछि विवाह, पार्टी, सभा तथा सम्मेलनका लागि हल उपलव्ध गराउन सकिने क्लवले जानकारी दिएको छ ।