बिराटनगरमा ज्यानै लियो मोबाइलको ब्याट्रीले, तपाईं पनि होशियार रहनुहोला है

  • २८ पुष २०७५, शनिबार

आगो ताप्दै खेल्ने क्रममा बाटोमा भेट्टाएको मोवाइलको ब्याट्री  बलिरहेको आगोमा हालेपछि ब्याट्री पड्किएर बिराटनगरमा एक वालकको मृत्यु भएको छ भने वालिका घाइते भएकी छिन्  ।

विराटनगर महानगरपालिका १५ रामजानकी चोकमा शुक्रबार दिउँसो मोवाइलको ब्याट्री पड्किएर ११ वर्षीय बालक अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा परी सात वर्षीय बालिका राधिकाकुमारी मण्डल घाइते भएकी छिन् ।

स्थानीय बासिन्दाका अनुसार जगन्नाथ मण्डलले बनाउँदै गरेको घरको कोठा भित्र थुपारेको परालमा बालेको आगो ताप्दै खेल्ने क्रममा बाटोमा भेट्टाएको मोवाइलको ब्याट्री  बलिरहेको आगोमा  हालेपछि एक्कासी पड्किएर घटना भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए । आगोमा हाल्दा ब्याट्री पड्किन्छ भन्ने कुराको कुनै ज्ञान नहुँदा घटना हुन पुगेको उनले बताए  ।

घटनास्थलबाट प्रहरीले रगत लतपत्तिएका वस्तु, पग्लिएको अवस्थामा मोवाइलको ब्याट्री, आगो बाल्दा बनेको खरानी र जलेका बोराका टुक्राहरु फेला पारेको छ । सबै वस्तुलाई परीक्षणका लागि प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइने र परीक्षण रिपोर्ट प्राप्त भएपछि घटनाको यथार्थ बाहिर आउने डीएसपी श्रेष्ठले बताए । उनले घटनास्थलमा विष्फोटमा प्रयोग गरिने अन्य कुनै वस्तु फेला नपरेका कारण पनि मोवाइलको ब्याट्री नै पड्किएर घटना भएको प्रहरीले अनुमान गरेको छ ।

विष्फोट लगत्तैको ठूलो आवाजले स्थानीयबीच भागदौड मच्चिएको थियो । विष्फोटपछि घटनास्थल नजिकै दुई बालबालिका छटपटाउँदै गरेको देखेपछि स्थानीय बासिन्दाले नै उद्धार गरेर उपचारका लागि अस्पताल पु¥याएका थिए । विष्फोटबाट शरीरका विभिन्न अंग क्षतविक्षत अबस्थामा भेटिएका बालकलाई उपचारका लागि अस्पताल पु¥याइएको थियो । उपचारका लागि गोल्डेन अस्पताल पु¥याउने वित्तिकै उनलाई चिकित्सकले मृत्त घोषणा गरेका थिए  ।

विष्फोटबाट दुबै आँखा, अनुहार, हात, खुट्टा र शरीरका विभिन्न भागमा गहिरो चोट लागेकी बालिकाको पनि अवस्था गम्भीर छ । उनलाई विराटनगर आँखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको  छ ।