धरानभन्दा पश्चिमतिर पिच हुनथाल्यो मदन भण्डारी राजमार्ग, पुर्वतिर बन्ने स्थानकै बेटुङ्गो

४३ वटा पुलसहित १३४ किलोमिटर सडक पिच हुँदै

  • १७ माघ २०७५, बिहीबार

मदन भण्डारी राजमार्ग धरान–चतरा–सिन्धुली–हेटौँडा सडक खण्डअन्तर्गत उदयपुर क्षेत्रमा कालोपत्रे बिछ्याउन सुरु गरिएको छ । उदयपुरको गाईघाट चुहाडे क्षेत्रमा कालोपत्रे बिछ्याउन थालिएको हो ।

परीक्षणका रूपमा यस सडकखण्डमा कालोपत्रे सुरु गरिएको धरान–चतरा–सिन्धुली–हेटाैंडा सडक आयोजना पूर्वी खण्डका प्रमुख ललिजन खनालले बताए । ‘सुनसरी, उदयपुर, सिन्धुली, मकवानपुरलगायत जिल्लाका भित्री उपत्यकाहरू जोड्ने यस राजमार्गलाई पूर्व–पश्चिम राजमार्गको विकल्पका रूपमा लिइएको छ । सडक संरचना निर्माण, पुलनिर्माण, कजवे, ह्युमपाइप, बक्स कल्भर्ट र स्ल्याब कल्भर्टलगायतको संरचना निर्माणको काम धमाधम भइरहेको आयोजनाले जनाएको छ ।

राजमार्गको पूर्वी खण्डको बसाहादेखि सबबेसको काम प्राय सकिएको छ । बेसहाल्ने काम धमाधम भइरहेको आयोजना प्रमुख खनालले जानकारी दिए । ‘चुहाडेदेखि कटारी र कटारीदेखि भिमानसम्म सडकको ग्रेड मिलान गरी सबबेस हाल्ने काम भइरहेको छ,’ उनले भने, ‘बसाहादेखि चुहाडे खण्डमा यसै वर्ष कालोपत्रे गरी सक्ने गरी तयारी हुँदै छ ।’ यस वर्ष ५० किलोमिटर कालोपत्रे गर्ने लक्ष्य उनले बताए ।

जेडआइसी लामा एन्ड शर्मा जोइन्ट भेन्चरले ०७३ कात्तिकदेखि पूर्वी खण्डको १३४ किलोमिटर सडक निर्माण गरिरहेको छ । निर्धारित समयमै काम सम्पन्न गर्न आफूहरू लागि रहेको निर्माण कम्पनीका इन्जिनियर सीताराम दाहालले जानकारी दिए ।

०७२ सालमा ५ महिना लामो मधेस आन्दोलनका वेला राजधानीलाई पूर्वसँग जोड्ने धरान–चतरा–गाईघाट–कटारी–सिन्धुलीबजार–हेटौँडा ३१८ किलोमिटर सडकखण्ड चर्चामा आएको थियो । त्यसयता, सरकारले आर्थिक वर्ष ०७३÷७४ मा ३ अर्ब २ करोड बजेट विनियोजन गर्दै ३ वर्षभित्र निर्माणसम्पन्न गर्ने लक्ष्यका साथ यस आयोजनाको काम अघि बढाएको थियो ।

राजमार्गलाई पूर्व र पश्चिम गरी दुई खण्डमा विभाजन गरेर निर्माणको ठेक्का लगाइएको छ । जसअन्तर्गत सुनसरीको धरानदेखि सिन्धुलीको भिमानसम्म पूर्वी खण्डमा पर्दछ । पूर्वी खण्डमा ४३ वटा पुलसहित १३४ किलोमिटर सडकको निर्माण कार्य भइरहेको छ । सवारीसाधनका लागि ७ मिटर र दायाँबायाँ २/२ मिटर गरी ११ मिटर कालोपत्रे हुने यो सडक ०७६ सम्ममा सम्पन्न गर्ने गरी निर्माण कम्पनीले ठेक्का लिएको छ ।

धनकुटे रोडवासीले बुझाए ज्ञापनपत्र
मदन भण्डारी राजमार्ग विस्तार हुँदा आफ्ना सबै जमिन कटौती हुने भन्दै धरान उपमहानगरपालिकास्थित धनकुटे रोडबासीहरूले अर्को रुट भएर सडक लैजान माग गरेका छन् । स्थानीयले मंगलबार उपमहानगरपालिका घेराउ गरी ज्ञापनपत्र बुझाएका हुन् ।

राजमार्गअन्तर्गतका सडकको मापदण्ड १४० फिट कायम हुने सडक डिभिजन कार्यालयले जनाएको छ । हाल धनकुटे रोड ३० फिटको छ । १४० फिट गर्दा सडक दायाँबायाँ बसोवास गर्ने हजाराैं जनता घरबारविहीन भएर सुकुम्बासी हुने धनकुटे रोड संयुक्त उपभोक्ता संघर्ष समितिका संयोजक निनामचन्द्र राईले जानकारी दिए ।

सडक डिभिजन कार्यालय विराटनगरले ०७४ सालमा गरेको स्थलगत अध्ययनले धरान तीनकुने गेट, मलाया रोड, श्रीजंगा रोड, रेडियो नेपाल, बिपी प्रतिष्ठान तल्लो गेट, सर्दु ५ नं. पुल हुँदै चतरा जाने बाटो कायम गर्दा स्थानीयकोे धनजनको क्षति कम हुने ठहर गरेको थियो । प्रभावित क्षेत्रका स्थानीयले यस प्रतिवेदनलाई आधार मानेर राजमार्ग निर्माण हुनुपर्ने माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै कार्यबाहक नगरप्रमुख मञ्जु भण्डारीले जनताको भावनाअनुरूप नै सडक निर्माण हुने जानकारी दिएकी छिन् ,नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उता पिच हुन थालेपनि मदन भण्डारी राजमार्ग बन्ने मोरङको केराबारी, लेटाङ लगायतका स्थानमा भने राजमार्ग बन्ने स्थानबारे अन्योल र विवाद कायमै छ ।