टी-ट्वान्टी क्रिकेटको दोस्रो खेलमा युएईलाइ ४ विकेटले पराजित गर्दै नेपाल विजयी

  • १८ माघ २०७५, शुक्रबार

टी-ट्वान्टी क्रिकेट अन्तरगत युएईविरुद्धको दोस्रो खेलमा नेपाल ४ विकेटले विजयी भएको छ ।

शुक्रबार दुबईस्थित आइसीसी ग्लोबल क्रिकेट एकेडेमीमा भएको खेलमा १ सय ८ रनको चुनौती नेपालले ६ विकेटको क्षतिमा १९.३ ओभरमा पूरा गरेको हो ।

शुरूवात चरणमा ४६ रन जोड्दा ५ विकेट गुमाएको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र पवन सर्राफबीच छैटौं विकेटका लागि ५५ रनको साझेदारी भएपछि नेपाल विजयी भएको हो ।

‘म्यान अफ दी म्याच दीपेन्द्र’ले ४१ बलमा एक छक्का र चार चौकाको मद्दतले अविजित रहँदै ४७ रन र पवनले २५ बलमा १८ रन बनाएका थिए  ।

यस्तै, अलराउन्डर करण केसीले २३ बलमा २० रन , प्रदीपसिंह ऐरीले ८, उपकप्तान ज्ञानेन्द्र मल्लले ७, कीर्तिमानी ब्याट्सम्यान सन्दीप जोराले एक रन जोडेपनि कप्तान पारस खड्का ‘डकआउट’ भएका थिए ।

पहिले ब्याटिङ गरेको युएईले नेपालको १९ ओभर २ बलमा अल आउट हुँदै १ सय ७ रन बनाएको थियो । युएईका सीपी रिज्वानले सर्वाधिक ४४ रन बनाए पनि इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा अविनाश बोहराले २० रन खर्चेर ३ विकेट लिएका थिए ।

यस्तै, सोमपाल कामी, सन्दीप लामिछाने र करण केसीले दुई दुई विकेट झारेका थिए भने युएईका एक खेलाडी ‘रनआउट’ भएका थिए ।

यो जितसँगै नेपालले तीन खेलको शृंखलामा १–१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो ।

तेस्रो तथा निर्णायक खेल आइतबार हुनेछ । आइतबारको खेलमा जित हासिल गरे नेपालले टी–२० क्रिकेटमा पहिलोपटक शृंखलामाथि कब्जा जमाउनेछ ।