लक्ष्मीमार्गमा जिल्लास्तरीय एन प्याब्सन स्पोर्ट्स मिट हुुँदै, ८२ वटा खेल खेलाइने

  • १ फाल्गुन २०७५, बुधबार

एन प्याब्सन मोरङको आयोजनामा फागुन २ र ३ गते अर्थात बिहीबार र शुक्रबार मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा दोस्रो जिल्ला स्तरीय खेलकुद प्रतियोगिता  हुने भएको छ ।

बुधबार लक्ष्मीमार्गमा पत्रकार सम्मेलन गरी एन प्याब्सन मोरङले सो जानकारी दिएको हो । प्रतियोगितामा भलिबल, कपर्दी र एथलेटिक्स,मिनी म्याराथन, रिले दौड, हाइजम्प, लङजम्प, ट्रिपल जम्प लगायत ८२  खेलहरु हुनेछन् । एन प्याब्सन मोरङमा सय स्कुल आबद्ध रहेको र त्यसमध्ये ५० स्कुल सहभागी हुने अपेक्षा गरिएको एन प्याब्सन मोरङका अध्यक्ष सुनिलदत्त अधिकारीले बताए ।

 

प्याब्सनले केही समयअघि लक्ष्मीमार्गमा नै स्पोर्ट्स मिट भएपनि बिराटनगर बाहिर पनि प्रतियोगिता गर्ने स्थानहरु छन् भन्ने सन्देश दिन बार्षिक कार्यक्रम अनुसार लक्ष्मीमार्गमा नै प्रतियोगिता आयोजना गरिएको आयोजकले दाबी गरेको छ ।

बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत बहादुर कार्कीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनमा ५ हजार विद्यार्थी उपस्थित हुने र  प्रतियोगितामा २ हजार विद्यार्थी सहभागी हुने अपेक्षा गरिएको छ । प्रत्येक खेलमा उत्कृष्ट हुने विद्यार्थीलाई  ट्रफी, मेडल र प्रमाणपत्र दिइनेछ ।

एन प्याब्सन स्पोर्ट्स मिट नाम दिइएको प्रतियोगितामा जिल्ला खेलकुद बिकास समिति र स्थानीय संघ संस्थाको सहयोग रहनेछ ।

कोरा शिक्षा मात्र नभई अतिरिक्त क्रियाकलापमा विद्यार्थी सहभागी हुन सकुन् भन्ने हेतुले प्रतियोगिता आयोजना गरिएको एन प्याब्सन मोरङका सदस्य तथा खेलकुद प्रतियोगिता आयोजक समितिका संयोजक दिपेन्द्र खुलालले बताए ।