नेपालकै पहिलो अन्तर्राष्ट्रिय डोरीतान प्रतियोगिता सम्पन्न, सशस्त्र प्रहरीलाई उपाधि

  • १७ फाल्गुन २०७५, शुक्रबार

ईश्वरी घिमिरे (दुहबी,सुनसरी)/ सुनसरीको दुहबीमा सम्पन्न प्रथम मनमोहन स्मृति गोल्डकप अन्तर्राष्ट्रिय डोरीतान प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल नेपालले जितेको छ।

सुनसरीको दुहबीमा शुक्रबार सम्पन्न एक दिवसीय उक्त खेलको फाइनल चरणमा बिहार भारतलाई पराजित गर्दै सशस्त्रले सो उपाधि जितेको हो। प्रतियोगिताको बिजेता तथा उपबिजेता समुहले क्रमश: नगद ५० र २५ हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे भने राइजिङ विराट मोरङले फेयर प्लेयरको उपाधी प्राप्त गर्न सफल भएको छ। सुनसरी जिल्ला डोरीतान संघको आयोजना तथा दुहबी नगरपालिकाको संयोजनमा संचालित नेपालकै पहिलो उक्त प्रतियोगितामा नेपाल र भारतका विभिन्न १० ओटा टिमहरुको सहभागिता रहेको थियो। डोरीतान नेपालको प्राचीन खेल भएपनि यसको संस्थागत विकास हुन नसकिरहेको वर्तमान अवस्थामा यसलाई सुदृढ बनाउदै लानु तत्कालिन आवस्यकता भएकोले प्रतियोगिताको आयोजना गरिएको आयोजक संस्थाका सचिव युवराज चौधरीले बताए। नेपालका विभिन्न २७ जिल्लाहरुमा जिल्ला समिती नै गठन गरी विस्तार गर्दै लगिएको यो खेलमा आगामी दिनहरुमा थप सक्रियता र सहभागिता अभिबृद्दी गर्दै लैजाने समितिका अध्यक्ष निश्चलराज शाक्यले बताए।