श्रमिक महिला समूहको पाँच दिने उद्घाेषण तालिम सम्पन्न, ३२ गृहिणीले लिए तालिम

  • ५ चैत्र २०७५, मंगलवार

केशु विरही, बेलबारी, माेरङ/महिलाहरुकाे क्षमतावृद्धि गर्ने उद्देश्यले बेलबारीमा आयोजित पाँचदिने उद्घाेषण तालिम  सम्पन्न भएको छ ।

श्रमिक महिला समूह बेलबारी १ काे आयाेजना र बेलबारी नगरपालिकाकाे आर्थिक सहयाेगमा संचालन गरिएकाे सो उद्घाेषण तालिममा नगरभरिका ३२ जना गृहिणी महिलाहरु सहभागी थिए । पाँचदिनसम्म चलेकाे तालिममा सप्तकाेसी एफ एम ईटहरीकी सीमा बस्नेतले प्रशिक्षण दिएकी थिईन् ।

सुरुमा अगाडि आएर आफ्नाे नाम भन्न समेत डराउने महिलाहरु पाँच दिनकाे तालिम लिएपछि भने आफ्ना कुरा खुलेर राख्न सक्ने भएका अध्यक्ष नितु थापा वताउँछिन ।

चैत्र १ गतेदेखि जारी पाँचदिने उद्घाेषण तालिमलाई बेलबारी नगरपालिका वार्ड नं १ का अध्यक्ष चक्रबहादुर खालालले उद्याेग वाणिज्य संघ बेलबारीकाे तालिमहलमा मङ्गलबार एक कार्यक्रमविच समापन गरे  ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष खुलालले तालिमले गृहिणी महिलाहरुकाे क्षमतामा सुधार आएकाे देख्दा आफू निकै खुसी भएकाे बताए ।  वडाध्यक्ष खुलालले अगामी दिनमा पनि यस्तै महिला लक्षित कार्यक्रम ल्याउने वचन समेत दिए ।

समापन कार्यक्रममा तालिममा सहभागीमध्येबाट कमलादेवि ढकाल, मीना कार्की, दुर्गा राई लगायतले आ-आफ्ना अनुभव अरुसामु बाँडेका थिए । अनुभव सुनाउदै उनीहरुले तालिम प्रभावकारी भए पनि तालिमकाे अवधि अलि छाेटाे भएकाे वताएका छन्  ।

तालिमका सहभागी महिलाहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिका वार्ड नं १ का अध्यक्ष चक्रबहादुर खुलालले प्रमाणपत्र वितरण गरेका थिए ।

श्रमिक महिला समूहले स्थापनाकाे छाेटाे समयमै महिलाहरुकाे हकहितका लागि मात्र नभएर समाजसेवाका विभिन्न काम समेत गर्दै आएको छ ।