लोहोन्द्रा खोलाको नाममा निजी जमीन उत्खनन् गरिएको भन्दै नगरपालिकामा ज्ञापन

  • ११ चैत्र २०७५, सोमबार

मोरङको बेलबारी १ का स्थानीय बासिन्दाले लोहन्द्रा खोलामा स्थायी तटबन्ध  गर्न र उत्खनन बन्द गर्न माग गरेका छन् ।
स्थानीय बिशाल थापाको नेतृत्वमा  स्थानीय बासिन्दाले सोमबार बेलबारी नगरपालिकाका प्रबक्ता तथा वडा नम्बर ३ का अध्यक्ष योगेन्द्र सुवेदी मार्फत नगरप्रमुख ज्ञानेन्द्र सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
बेलबारी बजारको पश्चिमतर्फको लोहन्द्रा खोलाले दर्जनौ स्थानीयको नम्बरी जग्गा बगाएर बगर बनाएको भएपनि धनिपुर्जा अनुसार नगरपालिकालाई कर बुझाइरहेको  तर  नगरपालिकाले खोला नियन्त्रणका लागि प्रयास नगरेको स्थानीयको गुनासो छ ।

हरेक बर्ष बाढीबाट हुने क्षतिको न्युनिकरणका लागी प्रयास नभएको उल्टै ७ महिना अघिदेखि खोला ठेक्का लागेको बाहना बनाएर जेसिबी लगायतका मेसिन प्रयोग गरी टिफर बाट ढुंगा,गिटी,बालुवा र माटोको उत्खनन गरी नम्बरी जग्गालाई समेत धराशायी बनाएको र सिंगो गाँउ नै जोखिममा पारेको भन्दै सो कार्य तत्काल रोक्न स्थानीयको माग छ ।
नगरपालिकाले खोलामा दिर्घकालीन तटबन्धनको काम शुरु नगरे खोला उत्खननमा प्रयोग भएका कुनै सवारी साधनलाई प्रबेश नदिने र मागको सम्बोधन नगरेमा जस्तोसुकै कदम चाल्न बाध्य हुने  र त्यसको जिम्मेवार नगरपालिका हुनुपर्ने स्थानीय अगुवा बिशाल थापाले बताए । नगरपालिकाले खोला दोहन नरोके सो क्षेत्रमा स्थानीय आफैंले उत्खनन रोक्ने उनीहरूले चेतावनी दिएका छन्  । निबेदनमा थापा सहित २५ जना स्थानीयले हस्ताक्षर गरेका छन् ।

मागको बिषयमा बेलबारी नगरपालिकाले छलफल गरी निर्णय लिने वडा नम्बर ३ का वडाध्यक्ष तथा नगरपालिकाका प्रबक्ता योगेन्द्र सुवेदीले  बताए ।