नौ जनाको हत्यामा संलग्न ठानिएका ब्यक्तिले झुन्डिएर गरे आत्महत्या
- ७ जेष्ठ २०७६, मंगलवार
पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्यामा संलग्न भएको आशंंका गरिएका ब्यक्तिले झुण्डिएर आत्महत्या गरेका छन् ।
हत्यामा संलग्नताको आशंका गरिएका मानबहादुर माखिमले झुण्डिएर आत्महत्या गरेको स्थलमा रगत लागेको हतियार र रगत लागेको कपडा भेटिएको पाँचथरका प्रहरी प्रमुख डीएसपी नरेन्द्र कुँवरले बताए । भुण्डिएर आत्महत्या गरेका माखिम विभत्स हत्या गरिएका बमबहादुर फियाक परिवारको कान्छा ज्वाइँ हुन् ।
सोमबार रातिको हत्याकाण्डमा झुण्डिएर आत्महत्या गरेका माखिमकी श्रीमती मनकुमारीको पनि हत्या भएको छ । माखिमको ससुरालीसँग राम्रो सम्बन्ध नरहेको र श्रीमतीले पनि सम्बन्ध विच्छेद गर्न चाहेको स्थानीयले बताएका छन् ।
घटनाबाट बच्न सफल वालिका सिता खजुमले बताएको हुलिया पनि माखिमसँग मिल्ने डीएसपी कुँवरले बताए । त्यही रिसिइबीका कारणले माखिमले ससुराली परिवार र साढु दाइको परिवारको हत्या गरेको हुनसक्ने प्रहरीले बताएको छ ।
घटनाको विस्तृत अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश–१ प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेपछि मात्र सुरु हुने घटन स्थलमा रहेका इलाका प्रहरी चौकी रविका प्रहरी निरीक्षक तेजनारायण यादवले वताए ।
मिक्लाजुङ गाउँपालिका–८ का मानबहादुर माखिमको शव झुण्डिएको अवस्थामा मंगलबार दिउँसो सामूहिक हत्या भएको स्थलबाट झण्डै डेढ घण्टा नजिकको ठाउँमा फेला परेको थियो । – उज्यालो अनलाइनको सहयोगमा