उत्तरी मोरङकै जेठो राष्ट्रिय पुस्तकालय केराबारीले संचालनमा ल्यायो इ-लाइब्रेरी

  • १५ असार २०७६, आईतवार

राष्ट्रिय पुस्तकालय केराबारीले उतरी मोरङमै पहिलो पटक डिजिटल लाइब्रेरी अर्थात इ-लाइब्रेरी संचालनमा ल्याएको छ ।

प्रदेश १ सरकार अन्तरगत सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग तथा नेपाल लाइब्रेरी फाउन्डेसन काठमाडौको प्राविधिक सहयोगमा इ-लाइब्रेरी उद्घाटन गरिएको हो । नयाँ प्रबिधी अनुसार पाठकहरुलाई पढ्न सजिलो र सुविधाका लागि संचालनमा ल्याईएको लाइब्रेरीको असार १४ गते अर्थात शनिवार एक समारोहका बीच केराबारी गाउँपालिकाका प्रमुख रोहितबहादुर कार्की र उपप्रमुख शान्तिकुमारी लिम्बूले उद्घाटन गरेका छन्  ।

पुस्तकालयका अध्यक्ष महाप्रसाद लुईंटेलको सभापतित्वमा भएको  कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बू, वडा नम्बर ७ का वडाध्यक्ष नारायण लिम्बु, वडा नम्बर ८ का वडाध्यक्ष मनोज खड्का र वडा नम्बर १० का वडाध्यक्ष जंगराज खवास, नेपाल लाइब्रेरी फाउन्डेसनका १ नम्बर  प्रदेश संयोजक मधुसूदन श्रेष्ठ, तथा जनप्रतिनिधिहरु, शिक्षक, बुद्धिजीवी, सञ्चारकर्मी एवं पुस्तकालयका शुभचिन्तक लगायत विभिन्न ब्यक्तिहरुको उपस्थिति थियो ।

लाईब्रेरी उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष कार्कीले ईलाईब्रेरीबाट पाठकहरु लाभान्वित हुने र पुस्तलकयको कार्यालय व्यवस्थापनका लागि भौतिक संरचना पनि निर्माण समेत गरिने बताए । त्यसैगरी गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी लिम्बूले सुचनाा र संचारको विकासको माध्यमबाट पाठकहरुले ज्ञान आर्जन गर्न सक्ने भएको हुँदा यसको समग्र विकासका लागि गाउँपालिका सधै सकारात्मक रहदै आएको र सहयोग गर्ने बताए ।

लाईब्रेरी स्थापनाका लागि १ नम्वर प्रदेश सरकारले ३ लाख रुपैया उपलब्ध गराएको थियो । लाईब्रेरीमा ८ हजार  पुस्तकहरु पढ्न सकिने छ ।

२०२४ सालमा स्थापना भएको राष्ट्रिय पुस्ताकालयले विभिन्न शैक्षिक तथा साहित्यिक कार्यक्रमहरु पनि गर्दै आएको छ ।

पुस्तकालयको आफ्नै भवन निर्माणको लागि केराबारी गाउँपालिकाले २० लाख र प्रदेश १ सरकारले ३० लाख रकम विनियोजन गरेका छन् । निकट भबिष्यमै केराबारी १० स्थित गाउँपालिकाले दिएको जग्गामा पुस्तकालयको भवन निर्माण शुरु हुने समितिका सचिव नवीन थापाले बताए । केराबारी गाउँपालिकाले पुस्तकालयका लागि यस अघि नै १५ धुर जग्गा दिइसकेको छ ।

राष्ट्रिय पुस्तकालय केराबारीका अलावा सर्भर राखिएको ठाउँको करिव १५० मिटर वरिपरिबाट कम्प्युटर तथा मोबाइलमा चलाउन सकिने छ ।  लाइब्रेरी चलाउन wifi button on गरेर (तर ईन्टरनेट आवश्यक नपर्ने) google chrome मा IP address enter गरेरआफ्नो आवश्यकता र रुचि अनुसार पुस्तक पढ्न एवं शिक्षामूलक भिडियोहरु हेर्न सकिने छ ।

यो पनि पढ्नोस न …

केराबारी गाउँपालिका र प्रदेश सरकारको सहयोगमा बन्नेभो सार्वजनिक पुस्तकालयको भवन