आफ्नो टोल आफैं बनाउन जुर्मुराए बेलबारी गैरीटोलका बासिन्दा, स्थानीय सरकारलाई चुनौती

  • २२ कार्तिक २०७६, शुक्रबार

आफ्नो गाउँ आफैं बनाउँ भन्ने अभिप्रायले मोरङ बेलबारी ३ गैरीटोलका स्थानीय बासिन्दा टोल सुधार तथा बिकास अभियानमा जुटेका छन् ।

टोलको सुधारका गर्न रकम संकलन गर्ने अभिप्रायले  यसपालिको तिहारमा भेला भएर देउसी खेलेका उनीहरू तिहारपछि संगठित रूपमा नै एकजुट भई स्वत स्फुर्त रूपमा टोल सुधारको अभियानमा जुटेका हुन् । 

नगरपालिकाले गठन गरेको टोल बिकास संस्थाले प्रभावकारी काम गर्न नसकेको भन्दै उनीहरू टोल सरसफाइदेखि सडक बत्ति ब्यबस्थापन र लामखुट्टे नियन्त्रण गर्ने अभियानमा छन् ।

अभियान अन्तरगत स्थानीय बासिन्दाले बेलबारी ३ को आर्यघाटदेखि  पशु हटिया चौरी हुँदै राजमार्गसम्म सरसफाइ गरेका छन् । करिब चालीस पचास जनाको संख्यामा भेला भएका उनीहरूले सडकमा रहेका फोहोरजन्य तथा अन्य सामग्री हटाएका छन् । उनीहरूले सडकको दायाँबायाँ रहेका र सडकलाई असर गर्ने झाडी र बोट बिरुवाका हाँगाबिंगा समेत गोडमेल गरेका छन् । उनीहरूले जलाउन मिल्ने फोहोर जलाएका छन् भने अन्य फोहोरलाई ब्यबस्थित गरेका छन् ।

सडक तथा टोल सरसफाइ गर्ने क्रममा उनीहरू स्थानीय बासिन्दालाई सडकमा फोहोर नफाल्न आग्रह गरिरहेका देखिन्थे । तर राजमार्ग छेउमा रहेकोे प्रताप थापाको घरबाट घरायसी प्रयोजनमा प्रयोग भएको पानीको फोहोर सडकमा नै झरिरहेको देखेपछि उनीहरू आपसमै ओठ लेप्र्याउँदै घरबेटीलाई गिज्याइरहेका देखिन्थे । कतिपय नेता र समाजको अगुवा हुँ भन्नेहरु नै गैह्र जिम्मेवार भई हेलचेक्र्याइँ र लापरबाही गर्दा टोलको सरसफाइ र बिकासमा अबरोध भएको गैरीटोल टोल सुधार समितिका अध्यक्ष श्याम गौतमले बताए । सरसफाइ अभियान साप्ताहिक रूपमा र निरन्तर चल्ने टोल सुधार समितिले जनाएको छ । 

टोलबासीले हटिया क्षेत्र लगायत सो टोल र आसपासका क्षेत्रमा सडक बत्ती नभएको भन्दै देउसीबाट संकलन भएको पैसाले सडक बत्ति बाल्ने योजना समेत बनाएका छन् । खासगरी सोमबारका दिन लाग्ने पशु हटियामा धेरै गाडीहरू आउने र चहलपहल हुने र बुढीगंगापछि मोरङकै प्रख्यात घाट भएपनि त्यस क्षेत्रमा सडक बत्ति समेत नभएकोले सरकारी निकायको भर नपरी टोलबासीहरु स्वत स्फुर्त रूपमा जुटेको स्थानीय कुमार घिमिरेले बताए ।  सरकारले खोलाबाट करोडौं आम्दानी गरेपनि खोला किनारमा रहेको घाट ब्यबस्थित गर्न र सडक बत्ति राख्न ध्यान नदिएको उनले बताए । 

अव्यवस्थित र होचा ठाउँमा बिजुलीका तारहरु रहेकोले पोल अग्ला बनाएर बिजुलीका तार ब्यबस्थित गर्न विद्युत प्राधिकरणलाई आग्रह गरिएकोले तार ब्यबस्थापन गरेर सडक बत्ति राखिने अध्यक्ष गौतमले बताए । 

टोलबासीले लामखुट्टे नियन्त्रणका लागि टोलमा औसधि हान्ने योजना समेत बनाएका छन् । नगरपालिकाले एक दुई पटक लामखुट्टेको औषधि हानेपनि प्रभावकारी नभएको र टोलमा केही ब्यक्तिलाइ डेंगुको संक्रमण देखिएकोले औषधिका लागि स्थानीय बासिन्दाबाट रकम संकलन भइ रहेको र बिहीबारसम्ममा तीन हजार रुपैयाँ संकलन भइ सकेको गौतमले बताए । – अम्बिका भण्डारी