लालिगुराँस सहकारीको पाठेघर जाँंच शिबिर सम्पन्न, १ सय १५ महिलाको स्वास्थ्य जाँच

  • १९ पुष २०७६, शनिबार

बेलबारी, माेरङ/ महिलाहरुमा पाठेघरको क्यान्सर दिन प्रतिदिन वढिरहेका बेला मोरङ बेलबारी नगरपालिका वडा नं ३ मा रहेकाे लालिगुराँस वचत तथा ऋण सहकारी संस्थाले निशुल्क पाठेेेघर जांँच शिबिर संचालन गरेकाे छ ।

लालिगुराँस बचत तथा ऋण सहकारी सस्थाको बार्षिक कार्यक्रम अन्तरगत सहकारीकै आयोजना, बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्राबिधिक सहयोग र बेलबारी नगरपालिकाको सहयोगमा शिविर संचालन गरिएकाे हो । महिला पाठेघर जाँच शिबिरमा १ सय १५ जना महिलाहरुले निशुल्क पाठेघर जाँच तथा स्वास्थ्य सेवा  लिएका छन् ।

लालिगुराँस साकाेसका व्यवस्थापक केशव रुपाखेतीले दिएकाे जानकारी अनुसार जांच गरिएका मध्ये एक जनामा पाठेघरको मुखमा हुने घाउ (भिआइए पाेजेटिभ)  देखिएकाे छ । अरु ३ जनामा पाठेघर खसेकाे समस्या, २ जनामा पाठेघरकाे संक्रमण र ३ जनामा पिसावकाे संक्रमणको समस्या भेटिएकाे छ ।

विपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान सुनसरीका डाक्टर  पप्प्पु रिजालको नेतृत्वमा आएको  डाक्टरको टोलीले महिलाहरुका आङ खस्ने समस्या लगायत पाठेघर जाँच गरेको थियोे ।  

स्वास्थ्य  शिविरले विशेष गरेर गरिव तथा कमजाेर आय भएका महिलाहरुलाई ठूलाे राहत पुगेको छ । तर पाठेघरको परिक्षणका लागि धेरैलाई खबर गरिएपनि आफुलाइ केही नभएको भन्दै धेरै महिलाहरुले आउन नमान्ने गरेको लालिगुराँस साकोसका अध्यक्ष दुर्गा गौतमले बताए ।

पाठेघरको समस्या तथा यसको क्यान्सरका कारण बर्षेनी हजारौं महिलाहरुको मृत्यु हुने गरेको छ । पाठेघरको मुखमा हुने क्यान्सरको कारण बिश्वमा बर्षेनी ५ लाख र नेपालमा बर्सेनी दुई हजार महिलाहरुको मृत्यु हुने गरेको छ । कमसेकम पाँच बर्षमा एकपटक पाठेघरको जाँच गर्न डाक्टरले सुझाव दिएका छन् ।

त्यसो त बेलबारी नगरपालिकाले पौष २१ गते देखि बेलबारीका वाहुनी प्राथमिक स्वास्थय केन्द, बेलबारी, डांँगिहाट, कसेनी स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्र बेलबारी ११ मा पाठेघरको क्यानसरको मुखको परीक्षण सम्बन्धी एक दिने स्वास्थ शिबिर संचालन गर्ने जनाएको छ ।