सुन्दरहरैचा नगरपालिकाद्वारा २५ लाखभन्दा बढी मुल्यका कृषि यन्त्र तथा उपकरण वितरण

  • ३ माघ २०७६, शुक्रबार

सुन्दरहरैचा नगरपालिकाले कृषकहरुलाई २५ लाख रुपैयाँभन्दा बढीका कृषि यन्त्र तथा उपकरण  वितरण गरेको छ ।

नगर क्षेत्रभित्र सामुहिक कृषि फर्म सञ्चालन तथा व्यक्तिगत कृषि पेशा अपनाएका व्यवसायिक कृषकहरुलाई नगरपालिकाले ७४ थान कृषि सामाग्रीहरु वितरण गरेको हो ।

नगरपालिकाले वितरण गरेका कृषि यन्त्र तथा सामाग्रीहरुमा ग्रीन नेट १८ थान, पावर सेल रिपर २ थान, मकै छोडाउने मेसिन २ थान, मिनि ट्याक्टरमा जोड्ने रिपर १ थान, पावर स्प्रे ४० थान र गटर स्प्रे १० थान छन् ।

नगरपालिकाले ती सामाग्रीहरु कृषकसंँग ५० प्रतिशत लागत साझेदारीमा वितरण गरेको हो। कृषकहरुसंँग माग आवेदन लिइ माग फारम बमोजिम कृषकलाई सामाग्री उपलब्ध गराएको सुन्दरहरैचा नगरपालिकाका कृषि शाखा प्रमुख फडिन्द्र भट्टराईले बताए ।

सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख शिव प्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद दाहालको उपस्थितिमा शुक्रबार विभिन्न कृषि उपकरण तथा  सामाग्रीहरु वितरण गरिएको हो ।

नगरप्रमुख ढकालले नगरले कृषकहरुको समस्या समाधान गर्न र कृषकहरुलाई व्यवसायिक बनाउन बजेट विनियोजन गरेता पनि कृषकले आफ्ना समस्या अनुसार कृषि सामाग्री माग नगरेको बताए। उनले कृषकले माग गरे अझ धेरै कृषि सामाग्री नगरले उपलब्ध गराउने समेत बताए ।