गोदावरी बोर्डिङको सहयोगमा सुन्दर टोल विकास संस्थाले बेलबारीले बितरण गर्‍यो राहत

  • १९ चैत्र २०७६, बुधबार

बेलबारी वाड नं. ३ स्थित सुन्दर टोलमा सुन्दर टोल विकास संस्थाले गोदावरी विद्या मन्दिर सेकेण्डरी बोर्डिङ स्कुलको सहयोगमा ज्याला मजदुरी गर्ने १० परिवारलाई खाद्य वस्तु वितरण गरेको छ ।

बुधवार बेलबारी वाड नं. ३ स्थित सुन्दर टोलमा नगरपालिका र वाड कार्यालयसँगको समन्वयवाट गोदावरी स्कुलको सहयोगमा १० परिवारलाई खाद्यान्न वस्तु वितरण गरिएको हो । ज्याला मजदुरी गर्ने परिवारको पहिचान गरी राहत वितरण गरेको टोल समितिले जनाएको छ ।

टोल समितिले परिवार सदस्य सङ्ख्याको आधारमा खाद्यान्न वितरण गरेको छ । प्रति परिवारमा १ देखी २ जनासम्म सदस्य सङ्ख्या भएका लाई १० केजी चामल र १ केजी दाल, ३ देखी ४ सम्म सदस्य भएकालाई २० केजी चामल र १ केजी दाल र ५ देखी माथि सदस्य सङ्ख्या भएकालाई ३० केजी चामल र १ केजी दाल वितरण गरिएको सुन्दर टोल विकास संस्थाले जनाएको छ ।

सुन्दर टोल भित्र रहेका ज्याला मजदुरी गर्ने ३१ परिवार मध्ये निजी संस्थाको सहयोगमा पहिलो चरणमा १० परिवारलाई मात्र सहयोग भएको संस्थाले जनाएको छ । बांँकी २१ परिवारलाई नगरपालिकाले खाद्यान्न प्रदान गर्ने बेलबारी नगरका प्रवक्ता तथा वाड नं. ३ का अध्यक्ष योगेन्द्र सुवेदीले बताएका छन्  ।

सुन्दर टोलमा अवस्थित गोदावरी स्कुलले ज्याला मजदुरी गर्ने परिवार कोही पनि भोको रहनु नपरोस् भनेर खाद्यान्न खरिदको लागि टोल विकास संस्थालाई सहयोग गरेको गोदावरी स्कुलका सञ्चालक ललित राईले बताए । उनले भने, ‘सुन्दर टोलमा हाम्रो शैक्षिक संस्था छ । तसर्थ हाम्रो पनि केही जिम्मेवारी बन्छ । यही सोचेर ज्याला मजदुरी गर्ने परिवारको लागि खाद्यजन्य वस्तु खरिद गरी सहयोग गरेका हौ ।’

मोरङको बेलबारीमा कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण  कोही पनि भोको बस्नु पर्ने स्थिति नरहोस् भनेर नै विभिन्न स्थानीय सामाजिक संघसंस्थाले राहत वितरण गरी रहेका छन्  ।