सुन्दरहरैंचाको बिपत कोषमा स्कुलहरुले दिए ५ लाखको सहयोग, जम्मा भो ७० हजार केजी चामल

विपत काेषमा ४० लाखभन्दा बढी नगद जम्मा

  • २ बैशाख २०७७, मंगलवार

सुन्दरहरैंचा, माेरङ/ सुन्दरहरैंचा नगरपालिकाले सञ्चालन गरेको विपत व्यवस्थापन कोषमा सुन्दरहरैंचामा रहेका सामुदायिक विद्यालयहरुकाे तर्फबाट रु ५ लाखभन्दा वढी रकम वरावरकाे खाद्य  सामग्री जम्मा भएकाे छ ।

सामुदायिक विद्यालयकाे तर्फबाट जम्मा भएकाे रु ५ लाख ३७ हजार ७ सय २० बराबरकाे ६ सय ८० बाेरा विपद व्यवस्थापन काेषमा जम्मा गरिएकाे हाे ।

सामुदायिक विद्यालयहरुकाे तर्फबाट जम्मा भएकाे खाध्य सामग्री राहत सङ्कलन तथा व्यवस्थापन समितिका संयाेजक लक्ष्मीकुमार श्रेष्ठले सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाललाई हस्तान्तरण गरेका हुन् ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसबाट सृजित महामारीको कारण उत्पन्न परिस्थितिको सामना गर्न सुन्दरहरैँचा नगरपालिकाले आफ्नो भूमिकालाई सशक्त बनाइरहेको बेलामा सुन्दरहरैंचा नगरपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुले साे परिमाण वरावरकाे खाध्य सामग्री हस्तान्तर गरेकाे सुकुना माविका प्रधानाध्यापक तथा सामुदायिक विद्यालय राहात सङ्कलन तथा व्यवस्थापन समितिका संयाेजक लक्ष्मीकुमार श्रेष्ठले बताएका छन् ।

विपत राहत काेषमा ३२ लाख ७४ हजार रुपैयाँ र ७० हजार किलाे चामल

सुन्दरहरैंचा नगरपालिकाले सार्वजनिक गरेको बिवरण अनुसार चैत्र २८ गतेसम्ममा विपत राहत काेषमा ३२ लाख ७४ हजार, ७ सय ८ रुपैयाँ जम्मा भएको छ ।

नगरपालिकाका अनुसार ७० हजार ९२८ किलाे चामल, ३ हजार ७ सय ३५ किलाे दाल, ४ हजार ६ सय ७५ किलाे नुन, २ सय ५० लिटर तेल जम्मा भएकाे छ ।