बेलबारी नगरपालिका क्षेत्रभित्र रहेका मस्जिदहरुको अनुगमन

  • ८ बैशाख २०७७, सोमबार

कोरोना भाइरस कोभिड–१९ को सम्भावित जोखिम हुन नदिन बेलबारी नगरपालिकाभित्रका मस्जिदहरुको अनुगमन गरिएको छ ।

नगर उपप्रमुख ढाका कुमारी पराजुलीको नेतृत्वमा पुगेको टोलीले अनुगमनका क्रममा बेलबारी ७ स्थित मुस्लिम मस्जिद बाहुनी पुगी अनुगमन गर्दै मुस्लिम समुदायका अगुवा एवम् मस्जिद समिति अध्यक्ष फारोद हुसेन, मस्जिदका पुजारी जाकिर हुसेन लगायतसंँग भेटेर आवश्यक जानकारी लिइएको  हो ।

बेलबारी नगरपालिकाकी नगर उपप्रमुख ढाकाकुमारी पराजुलीको नेतृत्वमा गएको अनुगमन टोलिमा वडा नं ७ का वडाध्यक्ष चेतराज बस्नेत, इलाका प्रहरी कार्यलय बेलबारीका प्रतिनिधि, नगरपालिकाका स्वास्थ्यकर्मीहरु, नगरस्तरीय बजार अनुगमन समितिका सदस्यहरु सहितको टोलीले स्थानीयहरु समेतको उपस्थितिमा मस्जिदको अनुगमन गरेको छ ।

अनुगमनमा मस्जिद संचालन र मुस्लिम समुदायको अवस्था बुझ्ने क्रममा अनुगमन टोलीले मस्जिदका अगुवाहरूसँग कोरोना भाइरसको जोखिमविरुद्ध लड्न आग्रह गरेको थियो । टोलीले  भारत लगायत अन्यत्रबाट कोही व्यक्ति वा पाहुनाहरु आएमा तत्काल प्रहरी अथवा स्थानीय तहलाई जानकारी दिन र लकडाउनको पालना गर्न आग्रह गरेका छन् ।  त्यस्ता स्थानमा विशेष निगरानी बढाइएको उपप्रमुख पराजुलीले बताइन् ।

स्थानीय र मुस्लिम समाजका अगुवा र मस्जिद संचालकहरुले बहिरबाट कुनै नयाँ आगन्तुक नआएको र कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन आफुहरु सामूहिक रुपमा सचेत रहेकोबताएका छन् ।

वडाध्यक्ष चेतबहादुर बस्नेतले बेलबारीका मुस्लिम अगुवा एवम् पुजारीलाई कोरोना भाइरसको जोखिम हुन नदिन समेत सचेत भइ लाग्न आग्रह गरिएको बताए।