कोरोना संक्रमित क्षेत्रबाट आएका बिरामीलाई रेफर गर्नु नाजायज नभएको चिकित्सक संघको दाबी

  • २१ बैशाख २०७७, आईतवार

नेपाल चिकित्सक संघले उदयपुरबाट आएका बिरामीलाई नोबेल शिक्षण अस्पतालले कोशी अस्पताल रेफर गर्नु जायज भएको तर्क गरेको छ ।

चिकित्सक संघ कोशी अञ्चल शाखाले शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै कोरोनाको संक्रमण फैलिएको जिल्ला उदयपुरबाट आएका बिरामीलाई परीक्षण केन्द्र कोशी अस्पताल पठाउनु विश्व स्वास्थ्य संगठनको प्रोटोकल अनुसार जायज भएको तर्क गरेको हो ।

उदयपुरबाट आएका बिरामीलाई नोबेल शिक्षण अस्पतालले कोशी अस्पताल रेफर गरेपछि सो बिषयले बिभिन्न सञ्चार माध्यममा चर्चा पाएको थियो । रेफरको बिषयले चर्चा पाएपछि चिकित्सक संघले बिज्ञप्ति मार्फत आफ्नो धारणा सार्वजनिक गरेको हो । संघका कोशी अञ्चल शाखा अध्यक्ष डा.फरवांड सिलवालद्वारा जारी बिज्ञप्तिमा धेरै संक्रमण फैलिएको क्षेत्रबाट आएका बिरामीलाई उपचार गर्नुपूर्व बिरामीको ‘स्वाब’ लिएर पीसीआर बिधिबाट परीक्षण गर्नुपर्ने विश्व स्वास्थ्य संगठनको प्रोटोकलमै उल्लेख रहेकाले बिरामी रेफर गर्नुलाई सामान्य प्रकृयाको रुपमा उल्लेख गरिएको छ ।

‘विश्व स्वास्थ्य संगठनद्वारा जारी प्रोटोकलमा उल्लेख भए अनुसार धेरै संक्रमित भेटिएको क्षेत्रबाट आएका बिरामीहरुलाई उपचार गर्नुपूर्व पीसीआर टेष्ट गर्नुपर्छ । प्रदेश १ मा कोशी अस्पताल र वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मात्र पीसीआर टेष्ट हुँने भएकाले संक्रमित क्षेत्रबाट आएका बिरामीलाई निजी अस्पतालले रेफर गर्नुपर्ने बाध्यता छ ।’ बिज्ञप्तिमा भनिएको छ ‘निजी अस्पतालहरुलाई पनि पीसीआर परीक्षणका लागि सहज हुँने व्यवस्था गर्न सरकारसँग माग गर्दछौ ।’

बिरामी रेफर गर्ने सामान्य प्रकृयालाई सञ्चारमाध्यमले गलत ढंगले व्याख्या गरेर स्वास्थ्यकर्मीको मनोबल गिराउँने काम भएको भन्दै संघठनले सो बिषयमा आफ्नो गंभीर ध्यानाकर्षण भएको जनाएको छ । कोरोना नियन्त्रणको पहिलो घेरामा रहेर काम गरिरहेका चिकित्सकहरुको मनोबल गिराउँने काम हुन नदिन पनि संघले सरकारसँग माग गरेको छ ।

कोरोनाको सावधानी अपनाउँदै बिरामीको स्वास्थ्यलाई ध्यान दिएर रेफर गरेका हौ ः नोबेल अस्पताल

यता, नोबेल शिक्षण अस्पतालले कोरोना फैलनसक्ने संभावित जोखिम प्रति सावधानी अपनाउँदै बिरामीको स्वास्थ्यलाई ध्यान दिएर बिरामी रेफर गर्नुपरेको जनाएको छ । उदयपुर मुलुकमै सबैभन्दा बढी संक्रमण देखिएको जिल्ला भएकाले त्यहाबाट आएका शंकास्पद बिरामीमा कोरोनाको संक्रमण हुँनसक्ने हुँदा पीसीआर बिधिबाट ‘स्वाब’ परीक्षण गरेर उपचार गर्न कोशी पठाइएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ ।

‘संक्रमित क्षेत्रबाट आएका शंकास्पद बिरामीमा यदि कोरोनाको संक्रमण भएको रहेछ भने अस्पतालमा भएका स्वास्थ्यकर्मी र अन्य दर्जनौ बिरामीमा कोरोनाको संक्रमण फैलन सक्छ । त्यो अवस्था भयावह हुन्छ ।’ डा.शर्माले भने ‘नोबेलमा कोरोना परीक्षण गर्ने व्यवस्था छैन । कोशीले चाहेमा तत्काल परीक्षण गरेर शल्यक्रिया गर्न सक्ने अवस्था हुँनाले बिरामीको स्वास्थ्य र कोरोनाको सावधानीलाई ध्यान दिदै शंकास्पद बिरामीलाई रेफर गरेका हौ ।’

अहिले पनि नोबेल अस्पतालमा उदयपुरका १८ जना बिरामी भर्ना भएर उपचाररत रहेको भन्दै डा.शर्माले शंकास्पद बिरामी भएकाले मात्र सावधानी अपनाउँन रेफर गर्नुपरेको बताएका छन् ।